हतियार देखाएर जुवाकाे खालबाट तीन लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जना पक्राउ

 कात्तिक २३, २०७७ आइतबार १५:१०:१२ | दुर्गा उपाध्याय
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा अत्याधुनिक हतियार देखाएर जुवाको रकम लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर तीन लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वेदकोट नगरपालिका १ पिपलथलाका केदार विष्ट, वडा नम्बर २ वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार सात÷आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए । रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीको संयुक्त टोलीले घटनामा संलग्नहरुलाई हतियारसहित पक्राउ गरेको हो । 

प्रहरीले तास खेलिरहेको खेतबाट समेत एक थान म्याग्जिन र दुई राउण्ड गोली फेला पारेको थियो । यस्तै त्यो घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र दुई  थान मोबाइलसमेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले पक्राउ परेका व्यक्तिहरुलाई म्याद थपका लागि पठाइएको बताउँदै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया