सुदूरपश्चिममा घट्यो कोरोना परीक्षण, निःशुल्कको कुरा भाषणमै सीमित

 कात्तिक २४, २०७७ सोमबार १७:५८:३० | सीताराम ओझा
unn.prixa.net

कैलाली – सङ्घीय सरकारले शुल्क लिने निर्णय गरेपछि सुदूरपश्चिममा कोरोना परीक्षण तथा उपचार गराउनेको सङ्ख्या घटेको छ ।

कैलाली, डोटी, डडेल्धुरा, बैतडी, बझाङ र अछाम (कमलबजार नगरपालिका) मा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको छ । जसको दैनिक चार हजार आठ सय जनाको परीक्षण गर्न सक्ने क्षमता छ । साउनदेखि असोज महिनासम्ममा औसतमा दैनिक ६ सयदेखि एक हजार जनाको परीक्षण हुँदै आएको थियो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलको कात्तिक १ गतेदेखि २० गतेसम्मको तथ्याङ्कअनुसार प्रदेशभर १२ हजार एक सय १३ जनाको काेराेना परीक्षण गरिएको छ, याे ६ वटा प्रयोगशालाको कुल क्षमताको झण्डै आठ प्रतिशत मात्रै हो । त्यस्तै महिनामा एक लाख ४४ हजार जनाको परीक्षण गर्न सम्भव छ तर अहिले मासिक कुल क्षमताको आठ देखि १४ प्रतिशत र दैनिक तीनदेखि पाँच प्रतिशत नमुना मात्र परीक्षण भइरहेको छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार भदौ महिनामा सबैभन्दा बढी २६ हजार दुई सय ४३ जनाको नमुना परीक्षण भएको थियो । वैशाखमा सबैभन्दा कम आठ सय ८८ जनाकाे नमुना परीक्षण भएको थियो । त्यस्तै जेठमा सात हजार पाँच सय २४, असारमा १७ हजार एक सय ९७, साउनमा १७ हजार नाै सय ११, असोजमा २१ हजार आठ सय ९३ जनाकाे नमुना परीक्षण भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

समग्रमा चैत ११ गतेदेखि कात्तिक १९ गतेसम्म एक लाख आठ हजार ६ सय २९ जनाकाे स्वाबकाे नमुना सङ्कलन गरिएकोमा एक लाख सात हजार सात सय ६५ नमुना परीक्षण भएको छ । तर सरकारको शुल्क लिने निर्णय आएपछि अहिले दैनिक डेढ सयदेखि पाँच सय जनाको मात्रै परीक्षण हुन थालेको हो ।

पालिकाले कन्ट्याक्ट ट्रेसिङ गर्नै छोडे

अहिले पालिकाले समेत नमुना सङ्कलनको काम बन्द गरेका छन्, कन्ट्याक्ट ट्रेसिङ पनि गर्न छाेडिएकाे छ । प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमित रहेका धनगढी उपमहानगरपालिकामा परीक्षण घट्यो तर सङ्क्रमणको दर भने बढेको छ । धनगढी उपमहानगरपालिकाले कात्तिक २० गतेसम्म आठ सय ४७ जनाको कोरोना परीक्षण भएको जनाएको छ, जसमध्ये चार सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । याे कुल सङ्ख्याको ५१ दशमलव ७१ प्रतिशत हुन आउँछ ।

धनगढीमा कडा खाले लक्षण भएका सङ्क्रमितको संख्या पनि बढेको छ । उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले सुरुमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा जोड दिएको बताउँदै दशैँ तिहारका कारण नागरिकले परीक्षण गर्न नचाहँदा घटेको दाबी गर्नुभयो ।

परीक्षणको दायरा बढाउने दाबी

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अब परीक्षणको दायरा बढाउने दाबी गरिरहेको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भन्नुभयो, ‘परीक्षणको मापदण्डअनुरुप परीक्षण भइरहेको छ । कम, बढी त भइहाल्छ । बीचमा दशैँ र तिहारको कारण परीक्षणमा कमी आएको हो । अब परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउँछौँ ।’

गलत निर्णयले भयावह अवस्था हुन्छ : जनस्वास्थ्यविद्

सङ्क्रमणको जोखिम बढे पनि परीक्षण घट्दा थप जोखिम बढ्ने जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्यविद् डाक्टर लक्ष्मीराज पाठकले भन्नुभयाे, ‘राज्यले कोरोनाको निःशुल्क उपचार गर्नुपर्छ । कोरोना परीक्षण र उपचारको शुल्क लिने सरकारको गलत निर्णयको प्रभाव परीक्षणमा तुरुन्तै देखियो । जसको नतिजा गम्भीर र भयावह हुने सम्भावना देखिन्छ । कोरोना भयावह हुनुपूर्व सरकारले गम्भीर भएर काम गर्न जरुरी छ ।’

‘निःशुल्क कोरोना परीक्षण’ मुख्यमन्त्री भट्टको भाषण, २ हजार तिर्छन् नागरिक !

आइतबार बिहान स्वास्थ्य कार्यालय कैलालीको स्वाब सङ्कलन केन्द्रमा पुग्दा कोरोना परीक्षण गर्ने नागरिकको लाइन थियो । लाइनमा भेटिनुभयो, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का स्थानीय सुरेश डंगौरा ।

कोरोना प्रभावकै कारण रोजगारी गुमेपछि घरमै बस्नुभएका ड‌ंगौराले फेरि काम खोज्नकै लागि पीसीआर परीक्षण गराउन आएको बताउनुभयो । ‘कोरोना परीक्षणको शुल्क नलाग्ने सुनेको थिएँ’, उहाँले भन्नुभयो, ‘स्वाब सङ्कलनका लागि धनगढी पुगेपछि भने दुई हजार रुपैयाँ तिर्न बाध्य भएँ ।’

स्वाब सङ्कलनको लागि लाइनमा लाग्नुभएका डंगौराको हातमा दुई हजार रुपैयाँ तिरेको रसिद पनि देख्न सकिन्थ्यो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का स्थानीय कमलराज जोशीलाई समेत स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।

दार्चुलामा उपचार सम्भव नभएपछि उहाँलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा रेफर गरियो । जोशीलाई अक्सिजनको आवश्यकता परेकाले आइतबार राति नै धनगढीकै माया मेट्रो अस्पतालमा लगिएको उहाँका दाजु कृष्णराज जोशीले बताउनुभयो ।

‘कोरोना परीक्षण गर्न सेती प्रादेशिक अस्पताल पुगेका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले निःशुल्क परीक्षण हुन्छ भनेर सुनेका थियौँ तर दुई हजार तिर्नुपर्‍याे ।’ प्रदेशका विभिन्न अस्पतालहरूले भने स्वेच्छिक रुपमा कोरोना परीक्षण गर्नेहरुले मात्र शुल्क तिर्ने गरेको दाबी गरेका छन् । तर अस्पतालमै भर्ना भएका बिरामीहरुले भने शुल्क तिरेर नै कोरोना परीक्षण गर्दै आएका छन् ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको हकमा समेत निःशुल्क भन्दा सशुल्क कोरोना परीक्षण गर्नेहरुको सङ्ख्या बढी छ । सोमबार सेती प्रादेशिक अस्पतालको टिकट काउन्टरमा पुग्दा कोरोना परीक्षण गर्नका लागि जम्मा ३६ जनाले रसिद कटाएका थिए, जसमा २२ जनाले शुल्क तिरेको देखियो । ‘कोरोनाको लक्षण देखिकाहरूले परीक्षण गर्दा शुल्क तिर्नु पर्दैन’, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले भन्नुभयो, ‘स्वेच्छिक परीक्षण गर्नेहरुले भने शुल्क तिर्दै आएका छन् ।’ 

सङ्घीय सरकारले कात्तिक २ गते कोरोना परीक्षण तथा उपचारमा शुल्क लिने निर्णय सार्वजनिक गरेको थियो । आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

तर अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको थियो । लगत्तै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कोरोना परीक्षणको शुल्क नलाग्ने घोषणा गर्नुभएको थियो तर मुख्यमन्त्री भट्टको यो घोषणा भाषणमै सीमित भएको छ । 

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना सङ्क्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया