धान लगाउने खेतमा 'फूल रोपेर गुजारा होला र ?' भन्थे, अहिले 'फ्लावर किङ' काे नामले चिन्छन्

 कात्तिक २७, २०७७ बिहिबार १८:४९:१५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – टीकापुर केराको परिकारका लागि प्रख्यात छ । व्यावसायिक केरा खेती र केराको परिकार बनाउने कार्य गरेर कालु हमालले टीकापुरलाई केराको पर्यायको रुपमा चिनाएका छन् । टीकापुर भनेपछि जो कोहीले हमालको ‘बनाना रिसोर्ट’ मा पाइने केराको परिकार वा केराको परिकार भन्ने बित्तिक्कै टीकापुरलाई सम्झने गर्दछन् ।

तर टीकापुरको चिनारी अब केराको परिकारमा मात्रै सीमित रहेन, व्यावसायिक फूल खेती त्यसमा थपिएको छ । टीकापुर नगरपालिका १ काे वनगाउँका कृषक सीताराम चौधरीले गएकाे चार वर्षदेखि व्यावसायिक फूल खेती गरेर टीकापुरको चिनारीमा थप एउटा नयाँ आयाम थपेका हुन् । अब टीकापुरको लागि केरा ब्राण्ड हो भने फूल खेती नयाँ चिनारी । 

केराका लागि प्रख्यात टीकापुरलाई मान्छेले फूल उत्पादन हुने नगरको रुपमा पनि चिन्न थालेका छन् । ‘मलाई विभिन्न ठाउँमा मान्छेले फूल किसानको रुपमा चिन्न थालेका छन्’, कृषक चौधरीले भने, ‘कालु हमाललाई केरा किङ भने जस्तै मलाई फ्लावर किङ भन्ने गर्दछन् ।’ उनले व्यावसायिक फूल खेती गरेर नाम मात्रै कमाएका छैनन्, आफूले सोचेभन्दा बढी दाम पनि कमाइ रहेका छन् । एकै सिजनमा फूल बिक्री गरेर तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

‘यो वर्ष पनि त्यति नै आम्दानी हुने अपेक्षा गरेको छु’, चौधरीले भने । उनको खेतबारीमा अहिले ढकमक्क फूल फुलेको छ, सयपत्री र मखमली फूल । यो दृश्यले जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । चार वर्ष अगाडि धान खेती मासेर खेतमा उनले फूल रोपे । चौधरीको यस्तो काम देखेर गाउँवासी चकित मात्रै परेनन्, प्रश्नसमेत गर्न थाले । धान लगाउने खेतमा फूल रोपेर गुजारा होला र ? त्यो बेला उनले प्रश्नको जवाफ दिन सकेनन् । तर उनी आफ्नाे कामबाट पछि  हटेनन् । दत्तचित्त भएर फूल खेतीमा लागिरहे ।  

अहिले त्यही फूल खेतीले उनको जीवनमा खुसीकाे रङ्ग भरेको छ । व्यावसायिक फूल खेती गरेर उनले नाम र दाम दुवै कमाइ रहेका छन् । ‘फूल खेतीको व्यवसाय फस्टाएपछि अब त म झन् उत्साहित भएको छु’, कृषक चौधरीले भने ‘यो खेतीले गुजारामात्रै हैन, गतिलो आम्दानी हुने गर्दछ ।’

यो वर्ष उनले आठ कट्ठा जमिनमा सयपत्री र मखमली फूल लगाएका छन् । तिहार आउन थालेपछि अहिले उनलाई फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ भएको छ । तिहारका लागि मखमली फूलको माला बनाउने कार्यमा अहिले जुटेको चौधरीले बताए । त्यसो त सयपत्री फूल र माला किन्नका लागि पनि दैनिक विभिन्न ठाउँबाट मान्छेहरू आउने गरेका छन् । ‘दिनमा पाँच/छ हजारदेखि बढीमा १० हजार रुपैयाँसम्मको फूल र माला बिक्री भइरहेको छ’, उनले भने । कृषक चौधरीले अघिल्लो वर्षसम्म अलि बढी जमिनमा फूल खेती गरेका थिए ।

यो वर्ष कोरोना प्रभावका कारण फूल बिक्री नहुने आशङ्काले उनले आठ कट्ठा जमिनमा मात्रै फूल रोपे । यद्यपि कोरोनाको कारण फूलको व्यापारमा खासै असर परेन । ‘औपचारिक कार्यक्रमहरु नभए पनि विभिन्न सरकारी कार्यालयहरुले फूल र माला खरिद गरिरहेका छन्’, उनले अगाडि थपे । ‘त्यति बिक्री हुन्न कि भन्ने आशङ्का थियो, अब मागअनुसार कसरी पुर्‍याउने भन्ने चिन्ता भइरहेको छ ।’ फ्लोरी कल्चर एसाेसिएशनले भारतबाट फूल आयातमा रोक लगाएपछि यता उत्पादित फूल मागअनुसार सबैलाई पुर्‍याउन हम्मेहम्मे भइरहेको चौधरीले बताए ।  

गएका वर्षमा उनले वर्षमा दुई सिजनसम्म फूल रोप्ने गर्दथे । यो वर्ष भने एक सिजनका लागि मात्रै भदौमा रोपेर अहिले फूल बिक्री गरिरहेका छन् । दाङ, बाँके, बर्दिया, बझाङमासमेत आफ्नो फूल गइरहेको उनले बताए । ‘टीकापुर र कैलालीमात्रै फूलको बजार होइन, यता मात्रै बिक्री गरेर केही हुन्न’, चौधरीले भने, ‘लुम्बिनी प्रदेशको विभिन्न जिल्ला र हाम्रो प्रदेशको पहाडी जिल्लामा पनि पठाइरहेको छु ।’

गएकाे वर्ष चौधरीले पाँच लाख रुपैयाँ बराबरको फूलको कारोबार गरेका थिए । सबै खर्च कटाएर झण्डै तीन लाख जति आम्दानी भएको उनले सुनाए । यो वर्ष खुद्रामा फूल एक किलाेकाे ४५० र एउटा माला एक सय रुपैयाँमा बिक्री गरिरहेको चौधरीले सुनाए । फूल मान्छेको जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारमा काम लाग्ने चिज हो । विभिन्न कार्यका लागि पहिले फूल मागेर काम चले पनि अब भने मान्छेले किन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फूलको माग बढ्दै गएकाले याे खेतीमा झनै उत्साह बढेको कृषक चौधरीले सुनाए । ‘यसको स्कोप बढ्दै गएकोले धेरै खुसी छु ।’ कृषक चौधरीले विभिन्न ठाउँको अवलोकन भ्रमण, बजार क्षेत्रको पहिचान गरेर मात्रै व्यावसायिक फूल खेतीमा हात हालेका हुन् । उनले २०७५ सालदेखि  व्यावसायिक फूल खेती गर्दै आएका छन् । अहिले चौधरीको घरपरिवारका सबै सदस्य फूल खेतीमा स्वरोजगार भएका छन् । यति मात्रै नभइ रोप्न, गोडमेल गर्नदेखि लिएर माला बनाउनका लागि स्थानीयलाई समेत रोजगारी प्रदान गर्दै आएको चौधरीले बताए ।  

सुदूरपश्चिममै अग्रणी फूल कृषकको पहिचान बनाएका सीताराम चौधरीलाई विदेशमा गएर फूल खेतीको अवलोकन गर्ने अवसर प्राप्त भएको छ । हल्याण्ड जानका लागि अवसर प्राप्त भएको उनले जनाए । ‘फूल खेतीको अवलोकन भ्रमणका लागि सीटीईभीटीइले हल्याण्ड लैजान लागेको हो’, चौधरीले भने ‘तर युरोपमा फेरि लकडाउन भएकाले रोकिएका छौँ । उता खुला हुने बित्तिक्कै जान्छौँ ।’ 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया