मलेसियामा ४ वर्ष बसेर फर्किए, अहिले किबी खेती गरेर मनग्य कमाइरहेका छन्

 मंसिर २, २०७७ मंगलबार १४:२०:५२ | रासस
unn.prixa.net

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ३ काे सिरान बजारका श्रीकृष्ण अधिकारीले किबी खेती सुरु गरेपछि मनग्य आम्दानी गर्न थालेका छन् । 

वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती सुरु गरेका उनी 'आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानुपर्दैन' भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए । विदेशमा गरेको कामले सन्तुष्टि नपाएका अधिकारी पाँच वर्ष अघिदेखि नीलकण्ठ नगरपालिका १४ काे काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । 

तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाइलाई कोसेली दिन आग्रह गर्नुभएका अधिकारीको अहिले अधिकांश समय किबी बारीमा बित्ने गरेको छ । विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन् । घरमा कपडा पसलसमेत छ तर व्यवसायभन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्चित किबी किसानको रूपमा चिनिनुभएको छ । 

घर फर्किएपछि आफ्नै गाउँ ठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले सुरु गरेको किबी खेती अहिले नमूना कृषि व्यवसायको रुपमा चिनिन थालेको छ । व्यावसायिक रूपमा सुरु गरिएको किबी खेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन् । 

पाँच वर्षअघि तीन सय बोटबाट सुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ । यो वर्ष एक हजार पाँच सय केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए । बाँझो जमिनको सदुपयोग गरी सुरु गरिएको किबी अर्गानिक रहेको उनको भनाइ छ । नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रूपमा किबी खेती गर्न सकिने अधिकारीले बताए । 

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन गर्न सकिन्छ । पौष्टिक हिसाबले फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिक तत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो चार सयदेखि ६ सय रुपैयाँसम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ । 

धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ । व्यावसायिक रूपमा खेतीको सुरुवात गरे पनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ । पालिकाले सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ । कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया