सार्वजनिक शौचालय सङ्क्रमण फैलाउने ठाउँ बन्न सक्छन्

 मंसिर ४, २०७७ बिहिबार ९:२८:५७ | प्रकाश अमात्य
unn.prixa.net

बिहीबार विश्व शौचालय दिवस मनाइँदै छ । कोरोना महामारीको समयमा सरसफाइको आवश्यकतालाई ध्यान दिएर यस वर्ष 'स्वच्छता र सरसफाइ : सुरक्षाको पहिलो पङ्क्ति' भन्ने मुख्य नारासहित दिवस मनाइँदैछ ।

विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएको थियो । शौचालय दिवसमा सार्वजनिक शौचालयलाई जोड दिइन्छ ।

नेपालमा अहिले पनि सार्वजनिक शौचालयको अवस्था दयनीय रहेको छ । धेरै ठाउँमा सार्वजनिक शौचालय भेटिँदैनन् भने भएका पनि भित्र पस्नै नसकिने अवस्थामा छन् । केही व्यवस्थित सार्वजनिक शौचालय भए पनि धेरैको अवस्था खराब छ । 

सहर तथा राजमार्गहरुमा सार्वजनिक शौचालयको अवस्था

अहिले राजमार्गहरुमा सुधारिएको छ । सरकारले राजमार्ग छेउका होटल तथा खाजाघरहरुमा यात्रुका लागि शौचालयको व्यवस्था अनिवार्य गरेपछि राजमार्गमा शौचालय उपलब्धताको समस्या धेरै छैन । तर ती शौचालयको अवस्था तथा त्यहाँको सरसफाइ, पानी तथा साबुनको उपलब्धता लगायतको कुराको अनुगमन भने हुनु जरुरी छ ।

सहरबजारको कुरा गर्दा काठमाण्डौ उपत्यकामा पछिल्लो समय केही सुधार भएको छ । पुराना सार्वजनिक शौचालयको मर्मतसम्भार, नयाँ थप लगायतका काम भइरहेका छन्, तर पर्याप्त भने छैन । अझै संख्या र गुणस्तर दुवै बढाउन आवश्यक छ । 

यस्तै सरकारले पेट्रोल पम्पहरुमा पनि अनिवार्य सार्वजनिक शौचालय हुनुपर्ने मापदण्ड राखेको छ, तर त्यो पनि कार्यान्वयन भएको छैन । अस्पताल, विद्यालय, क्याम्पस, सुपरमार्केटहरुमा पनि मापदण्ड अनुसार शौचालयको व्यवस्था छैन । समग्रमा सार्वजनिक शौचालयको संख्या तथा गुणस्तर दुवैमा काम गर्नुपर्ने आवश्यकता रहेको छ । 

सार्वजनिक शौचालयको व्यवस्थापनमा देखिएका समस्या

पहिलो कुरा त सार्वजनिक शौचालय सरकारको प्राथमिकतामा कम पर्ने गरेको छ । यो नै समस्या हो । यसको लागि अहिले सरसफाइको मुख्य जिम्मेवारी पाएका पालिकाहरुले काम गर्नुपर्छ । केही ठाउँमा सचेतना पनि पाइन्छ, तर धेरै ठाउँमा बेवास्ता गर्ने गरिन्छ । यस्तै सार्वजनिक शौचालय भन्नासाथ निकै परसम्म दुर्गन्ध फैलने किसिमको हुन्छ भन्ने मानसिकताका कारण सार्वजनिक शौचालय बनाउने कुरा गर्दा त्यस आसपासका बासिन्दाले विरोध गर्छन् । 

सहरका धेरै ठाउँमा सार्वजनिक शौचालय बनाउन जग्गाको अभाव छ । यस्तै पालिकाहरुले सार्वजनिक शौचालय संचालनका लागि ठेक्का प्रणालीमा जाने गरेका छन् । यो सबैभन्दा मुख्य समस्या हो । यो सेवा क्षेत्र भएकोले ठेक्कामा लगेर व्यापार गर्दा त्यसको गुणस्तर कायम नहुन सक्छ । अर्को कुरा ५–१० रुपैयाँ उठाएर सार्वजनिक शौचालयको व्यवस्थापन गर्न सकिँदैन । त्यसैले यस क्षेत्रमा विभिन्न तहका सरकारले सुविधा दिएर यसलाई व्यवसायिक बनाउनुपर्छ । 

यस्तै शौचालयमा जम्मा हुने मलमूत्रको सही व्यवस्थापन पनि आवश्यक छ । आधुनिक प्रविधिबाट त्यो मलमूत्रलाई प्रशोधन गरी बायोग्यास तथा मल उत्पादन गर्न सकिन्छ । यस्तै सार्वजनिक शौचालय फोहोर हुँदा विभिन्न सङ्क्रमणको जोखिम हुने भएकोले नियमित सरसफाइ, पानी तथा सरसफाइका सामाग्री उपलब्धता, आधुनिक प्रविधिको प्रयोग, महिला–अपाङ्गमैत्री शौचालयको व्यवस्था जस्ता समस्याहरु रहेका छन् । सार्वजनिक शौचालय अपरिहार्य रहेका कारण यस्ता समस्याहरुको समाधानको लागि सरकार जिम्मेवार बन्नुपर्छ । 

यी समस्या समाधानको लागि पहिलो कुरा त अहिले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनको लागि चाहिने आवश्यक नियम, कानुन तथा निर्देशिका छैन । त्यो नभएको अवस्थामा पालिकाहरुले सार्वजनिक शौचालय सुधार गर्नको लागि काम गर्न सकेका छैनन् । त्यसैले कार्यविधि तथा निर्देशिका लागू गर्नु पहिलो आवश्यकता हो । किनभने नियममा बाँधिएपछि जवाफदेहिता ल्याउँछ । त्यसपछि यसमा निजी क्षेत्रबाट लगानी ल्याउनका लागि प्रोत्साहन गर्नुपर्छ ।

यसको लागि व्यवसाय दर्ता, विभिन्न छुट तथा सहुलियतको व्यवस्था गर्नुपर्छ । त्यस्तै विभिन्न ठाउँमा स्थान अभावको कुरा छ त्यसलाई नगरपालिकाले त्यहाँ भएका विकल्पहरूको खोजी गर्नुपर्छ । यसमा होटल, रेष्टुरेण्ट, डिपार्टमेन्टल स्टोर लगायतसँग सहकार्य गर्न सकिन्छ । त्यस्तै सार्वजनिक शौचालयमा कर्मचारी, पानी, सरसफाइका सामाग्रीको व्यवस्था गर्न पालिकाहरुले स्पष्ट मापदण्ड बनाउनुपर्छ । 

शौचालयलाई सुरक्षाको पहिलो पङ्क्ति भन्नुको अर्थ 

यस वर्ष विश्व शौचालय दिवसमा स्वच्छता र सरसफाइ : सुरक्षाको पहिलो पङ्क्ति  भन्ने नारा छ । अहिले हामी कोरोना महामारीको उच्च जोखिममा छौं । यो महामारीमा सुरक्षित रहनको लागि हामीले सरसफाइमै ध्यान दिनुपर्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठन लगायत विशेषज्ञहरुले भन्दै आइरहेका छन् । अहिले व्यवहारमा पनि लागू भइरहेको छ ।

यो भाइरससँग लड्नको लागि अहिलेसम्म खोप र औषधि तयार भएको छैन । यसबाट सुरक्षित रहनको लागि पहिलो पङ्क्ति मा साबुनपानीले मिचिमिची २० सेकेण्डसम्म हात धुने,  मुखबाट निस्कने छिटा अरुमा नजाओस् भनेर मास्क लगाउने जस्ता सरसफाइका विधि प्रयोग भइरहेका छन् । यस्तै शौचालय प्रयोग गर्दा पनि हामीले निकै सावधानी अपनाउनु पर्छ ।

अहिले नेपालमा सङ्क्रमितको संख्या बढेको छ । अहिले सार्वजनिक शौचालयमा जाने जो पनि सङ्क्रमित भएमा व्यक्ति हुन सक्छन् । चाहे सहरका सार्वजनिक शौचालय होस् वा विभिन्न सार्वजनिक कार्यालयका चर्पी हुन् त्यहाँ सुरक्षाका उपाय अपनाउने हो भने कोरोनाको संभावित जोखिमबाट बच्न सकिन्छ भन्ने नै यस वर्षको शौचालय दिवसको मर्म हो । 

राजमार्ग तथा सहरी बजारमा भएका सार्वजनिक शौचालयमा नियमित सरसफाइ तथा नि-सङ्क्रमणका काम गर्नु आवश्यक छ भने पानी तथा सरसफाइका सामाग्री तथा स्यानिटाइजरको पर्याप्त उपलब्धता हुनुपर्छ । यस्ता शौचालय प्रयोग गर्नेहरु पनि उत्तिकै सचेत हुनु जरुरी छ । अत्यावश्यक भएर यस्ता शौचालय प्रयोग गर्नुपर्दा प्रयोग गर्दादेखि निस्कँदासम्म सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सुरक्षाका उपाय अपनाउँदै प्रयोगपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । 

यस्तै अस्पतालका शौचालयहरु पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग भइरहेका छन् । त्यसैले अस्पतालले कोरोना सङ्क्रमितका लागि तथा सम्भावित सङ्क्रमितको लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्छ । त्यहाँ पनि नियमित सरसफाइ तथा सरसफाइका सामाग्रीको उपलब्धता हुनुपर्ने कुरा त छँदैछ । 

(सार्वजनिक शौचालयका अभियन्ता प्रकाश अमात्यसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १४, २०८०

प्रकाश अमात्य

प्रकाश अमात्य सार्वजनिक शौचालयका अभियन्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया