कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
विश्वमा कोभिड-१९ विरुद्ध चाँडै खोप पाउने आशा बढेको छ । अमेरिका, बेलायत, रुस, चीन लगायतका देशले आविष्कार गरिरहेका विभिन्न खोपहरु अन्तिम परीक्षणमा पुगिसकेका छन् । ती खोपहरु चाँडै प्रयोगमा आउने विश्वास बढेको छ ।
कोभिड-१९ ले विश्वलाई नै चुनौती दिएकाले झण्डै आठ अर्ब मानिस नै खोपको पर्खाइमा छन् । यति धेरै मानिसलाई खोप चाहिन्छ भने खोपको खोजी गरिरहेका देशको जनसंख्या धेरै छ । यसैले हाम्रो जस्तो देशमा समयमा खोप ल्याउन धेरै पूर्वतयारी गर्नुपर्छ । तर यसबेलासम्म सरकारको भरपर्दो तयारी देखिँदैन । जसरी कोभिड-१९ को सङ्क्रमण देखिँदै गर्दा हाम्रो देशमा यो भाइरस फैलिँदैन, हामी सजिलै रोक्न सक्छौँ, हाम्रो प्रतिरोधी क्षमता बलियो छ जस्ता कुरा गरेर यसलाई बेवास्ता भएको थियो ।
अहिले खोप ल्याउने विषयमा पनि उस्तै बेवास्ता देखिन्छ । पूर्वतयारी नगरेकाले भाइरसको सङ्क्रमण फैलनुको साथै ठूलो जनधनको क्षति भयो भने अब खोपमा हुनसक्ने ढिलाइले पनि उस्तै सङ्कट ल्याउन सक्छ । यसैले खोप आयातका लागि समयमै पूर्वतयारी गर्नुपर्छ ।
खोप खरिदका लागि कोष स्थापना
हामीले यस बेलासम्म कोभिड-१९ को खोप खरिदका लागि कोष स्थापना गरिसक्नुपर्ने हो तर तयारी समेत भएको देखिँदैन । सरकारले अध्यादेश ल्याएको छ ,तर त्यसमा पनि कोषको कुरा देखिँदैन । खोपका लागि एउटा कोष खडा गरेर त्यहाँ सरकारसँगै व्यक्ति तथा सहयोगी सङ्घसंस्थाबाट रकम जुटाउनु उपयुक्त हुन्छ ।
सरकारले त्यता ध्यान दिएको पाइँदैन । तीन करोड मानिसलाई खोप लगाइदिन ठूलो बजेट चाहिने भएकोले सरकारले तत्कालै यसको व्यवस्थापनको काम थाल्नुपर्छ । सरकार दाताहरुले उपलब्ध गराउँछ भन्ने आशामा पनि रहेको हुन सक्छ । तर अहिले अवस्था त्यस्तो छैन ।
कोभिड-१९ ले विश्वभर प्रभाव पारेको छ । दाता राष्ट्रहरु नै मारमा परिरहेका बेला दाताले खोप उपलब्ध गराउँछन् भन्ने आशा गर्न सकिँदैन । योसँगै नेपालमा प्रतिव्यक्ति आय एक हजार डलर नाघेकोले दाताले निःशुल्क उपलब्ध गराउने संभावना ज्यादै न्यून हुन्छ । सहुलियत ऋणसम्म हुन सक्छ । खोपको लागि पुरै ऋणको पर्खाइमा रहनुभन्दा आफैँले कोष स्थापना गर्ने हो भने सहज हुन्छ ।
खोप बुक गर्नुपर्ने
खोप प्रयोगमा आउने अन्तिम तयारीमा पुगेको बेला थुप्रै देशहरुले आफूलाई चाहिने खोप बुक गर्न थालिसकेका छन् । बेलायत, भारत, ब्राजिल लगायतका थुप्रै देशहरुले करोडौं डोज खोप बुक गरिसकेका छन् ।
नेपालले पनि तीन महिनाअघि नै यो काम गर्नुपर्थ्याे । अझै पनि गर्न सकिन्छ । जुन कम्पनीको खोप सफलता नजिक छ, ती कम्पनीहरुसँग तिम्रो खोप उपयोगी र सुरक्षित भयो भने यति मात्रामा हामी किन्छौँ भनेर बुक गरी केही रकम समेत दिन सकिन्छ । यसो गर्यो भने हाम्रो पालो चाँडो आउँछ । विश्वले नै खोजी गर्ने खोप पाउन विभिन्न देशले आफ्नो पहुँच प्रयोग गर्छन् ।
यस्तो बेला हाम्रो पहुँच नपुग्ने पनि संभावना भएकोले समयमै बुक गर्यो भने समयमा ल्याउन पनि सकिन्छ । दाताले निःशुल्क दिने संभावना कम रहेको बेला आखिर ऋणै गर्नुपर्छ वा पैसा तिरेर किन्नै पर्छ भने किन ढिला गर्ने ? चाँडै बुक गर्दा छिटो खोप ल्याएर महामारीलाई सामान्य अवस्थामा लैजान सकिन्छ ।
भौतिक संरचना निर्माण
नेपालमा अहिले सरदर छ लाख बालबालिकालाई नियमित खोप दिइन्छ । उनीहरुले दिने खोपमध्ये कतिपय एउटैमा एकभन्दा बढी प्रकारमा हुने भएकोले अहिले छ वटा हुन्छ । यसरी हेर्दा छ लाख बालबालिकालाई दिइने ३६ लाख डोज खोप भण्डारण हुन्छ । नेपालको स्वास्थ्य सेवा विभागसँग भएको क्षमता यति नै हो ।
हामी छ लाख डोज खोप भण्डारण गर्न सक्छौं । तर कोभिड-१९ विरुद्धको खोप ल्याउँदा पनि यी खोपको तालिका प्रभावित गर्नुहुन्न । त्यसैले एकै पटक लाखौं डोज खोप ल्याउँदा यहाँ भण्डारणको असुविधा हुन्छ । यसको लागि सरकारले अहिले नै भौतिक संरचना निर्माण गर्न थाल्नुपर्छ । सरकारले अहिलेसम्म त्यसतर्फ काम गरेको छैन । यसको लागि आवश्यक भवनदेखि चिस्यान केन्द्रका लागि आवश्यक उपकरणहरुको समेत व्यवस्था गर्नुपर्छ ।
यस्तै खोप ओसारपसारका लागि चिस्यान केन्द्रसहितका ट्रकहरु पनि खरिद गर्नुपर्ने हुन्छ । दुर्गम गाउँमा लगेर खोप दिनुपर्ने भएकोले सडक यातायातको पहुँच भएको ठाउँबाट सडक पहुँच नभएको ठाउँमा सुरक्षित रुपमा खोप पुर्याउनका लागि आवश्यक उपकरणहरु पनि चाहिन्छ । अब यस्ता कुराको जोहो गर्नुपर्छ । यस्तै खोप दिने जनशक्ति पनि तयार हुनुपर्छ ।
यो नयाँ रोग र खोप भएकोले स्वास्थ्यकर्मीलाई तालिम अनिवार्य हुन्छ । कोभिड-१९ फैलँदै गर्दा स्वास्थ्यकर्मीलाई तालिम नदिएको कारण विभिन्न समस्या आएको छ । खोप लगाउने कुरामा पनि हेलचेक्र्याइ गर्न मिल्दैन । त्यसैले जनशक्ति तयारीको लागि पनि योजना बनाउन थाल्नुपर्छ ।
कूटनीतिक पहल आवश्यक
कोभिड-१९ महामारीले विश्वभर असामान्य अवस्था सृजना गरेको छ भने यस विरुद्धको खोप पनि सामान्य कुरा होइन । नियमित दिइरहेका अरु विभिन्न खोप भन्दा यो बिल्कुलै फरक हुन्छ । बहुप्रतिक्षित खोप पाउने आशा बढिरहँदा शक्तिसम्पन्न देशहरु आफ्ना नागरिकलाई पहिले खोप लगाउन प्रयास गर्छन् । यो स्वभाविक पनि हो ।
विश्वका झण्डै आठ अर्ब मानिसलाई एकैपटक खोप उपलब्ध पनि हुँदैन । त्यसैले सकेसम्म छिटो खोप ल्याउनका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ । अहिले खोप आविष्कार गरिरहेका अमेरिकी वा अरु बहुराष्ट्रिय कम्पनीले अमेरिकी राष्ट्रपतिको कुरा सहजै मान्छन् । यस्तो अवस्थामा उसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको छ भने चाँडो खोप प्राप्तीको लागि सहजता हुन्छ ।
यस्तै विश्व स्वास्थ्य संगठन लगायत खोप आविष्ष्कारको काम गरिरहेका विभिन्न देशमा परराष्ट्रमन्त्री आफैँ गएर भए पनि कूटनीतिक पहल गर्नुपर्छ । खोप खरिदका लागि कम्पनीहरुसँग खोप बुक पनि गर्ने र समयमा उपलब्ध गराउनका लागि तथा अनुदान तथा ऋण सहयोगका लागि पनि कुटनीतिक पहल गर्नु आवश्यक छ । अहिले सरकारले यो कुरालाई बेवास्ता गरेको देखिन्छ ।
खोप निःशुल्क हुनुपर्छ
कतिपय खोप सशुल्क पनि गर्न सकिन्छ । तर विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड-१९ विरुद्धको खोप निःशुल्क हुनुपर्छ भन्ने मेरो मान्यता छ । दुई डोजमा दिनुपर्ने कोभिड-१९ विरुद्धको खोपका लागि ५/७ हजार रुपैयाँ सबैले खर्च गर्न सक्दैनन्, अझ त्योभन्दा महँगो पनि पर्न सक्छ । यस्तै अहिले कोरोना केही हैन यो सामान्य त हो भन्नेहरुले पैसा तिरेर खोप लगाउँछन् भन्ने विश्वास गर्न सकिँदैन ।
अमेरिकामा इन्फ्लूएन्जा विरुद्धको खोप सित्तैमा दिइन्छ, तर पनि त्यहाँ ५० प्रतिशत भन्दा बढी मानिसले लगाएको पाइँदैन । हाम्रो जस्तो देशमा पैसा तिरेर खोप लगाउ भन्दा धेरैले नलगाउन सक्छन् । त्यसैले पनि महामारीका रुपमा रहेको कोरोना विरुद्धको खोप सरकारले निःशुल्क गर्नुपर्छ । त्यसैको लागि सरकारले कोष बनाउनुपर्छ भनिएको हो । बरु त्यसमा जोखिमका हिसावले वर्गीकरण गरेर विभिन्न तहमा खोप लगाउन सकिन्छ ।
जस्तो एक पटक ६० वर्षभन्दा माथिका र १० वर्षमुनीका सबैलाई दिने, मधुमेह लगायत दीर्घरोग भएका, मोटो शरीर भएका लगायतका मानिसलाई र त्यसपछि १० देखि ४० वर्ष उमेर समूहका सबैलाई गरी विभिन्न चरणमा खोप दिन सकिन्छ । तर सबैलाई निःशुल्क उपलब्ध गराएर व्यापक प्रचारप्रसार सहित राष्ट्रिय अभियान चलाएर खोप दिन सकिन्छ । यो एउटा ठूलो कार्यक्रम भएकोले सरकारले सबै किसिमको पूर्वतयारी गर्न ढिला गर्नु हुन्न ।
कोभिड-१९ विरुद्धको खोप आयात गरी आम नेपालीलाई दिनको लागि सरकारले एउटा कोष बनाउनुपर्छ ।
यदि अध्यादेशमा त्यो व्यवस्था छैन भने अध्यादेश संशोधन गरेर भए पनि चाँडै कोष बनाएर रकम संकलन गर्न सार्वजनिक आह्वान गर्नुको साथै संभावित दाताको भेला गर्न सकिन्छ । यस्तै खोप बुक गर्ने प्रक्रियामा पनि जानुपर्छ । खोप ल्याउन साथ फटाफट लगाउने कानुनी व्यवस्था गर्नुपर्छ । सरकारका कुन पदाधिकारी कहाँ गएर कस्तो पहल गर्नुपर्छ त्यो ढिला नगरी काम सुरु गर्नुपर्छ । व्यापारिक र कुटनीतिक दुबै माध्यम प्रयोग गरेर खोप ल्याउने सशक्त प्रयास गर्न आवश्यक छ ।
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित ।)
डा. बाबुराम मरासिनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्यविद् हुनुहुन्छ ।