गल्ती गर्ने कर्मचारीलाई नछाड्ने अर्थमन्त्री पाैडेलको चेतावनी, ‘कामको लक्ष्य पूरा नभए दण्डित हुनुपर्छ’

 मंसिर ८, २०७७ सोमबार १६:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । 

अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू लगायतको सहभागितामा साेमबार भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरूको सामना गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले नियतवश त्रुटि, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछाड्ने बताउनुभयो । 

डर, त्रास सिर्जना गरेर कर्मचारीहरूलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभयो । ‘कठिनाइ र समस्याहरूलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छाैँ, पूरा नभए तपाईँहरू दण्डित हुनुपर्छ’, उहाँले भन्नुभयो । 

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालु आर्थिक वर्ष सकिँदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नुभयो । उहाँले इमानदार र सक्रिय भएर लाग्न पनि निर्देशन दिनुभयो । 

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरू जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो तहमा समाधान गर्न सक्नुभएन भने नेतृत्वलाई भन्नुहोस्, हामी सहयोग गर्न तयार छौँ ।’

अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिस्पर्धा गरेर काम गर्न पनि अनुरोध गर्नुभयो । उहाँले स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरूसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीहरूलाई आग्रह गर्नुभयो । 

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्योभन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीतिहरू बनाएर अघि बढ्न निर्देशन दिनुभयो । 

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताउनुभयो । 

अर्थमन्त्रालयबाट भर्चुअल माध्यमबाट आयाेजना गरिएकाे कार्यक्रममा एक सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया