प्रधानमन्त्री चढेको हेलिकप्टर ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द

 मंसिर ८, २०७७ सोमबार १७:३१:३४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको सन्दकपुर गाउँपालिकाको जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । मौसममा खराबी आएपछि प्रधानमन्त्री ओली चढेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द गरिएको हो । 

कार्यक्रम रद्द भएसँगै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा भेला भएका कार्यकर्ता, स्थानीय, जनप्रतिनिधिलगायतका सहभागी निराश भएर फर्किएका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा परिचालित गरिएको थियो । 

कार्यक्रमका लागि स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, पत्रकार, स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । 

नेपाल–भारतको सीमा क्षेत्र निरीक्षणका लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीमा प्रधानमन्त्री ओली दिउँसो एक बजे आउने समय तय भएको थियो । 

पालिकाकी उपाध्यक्ष शोभा पराजुलीले भन्नुभयो, ‘मौसमको कारण देखाउँदै हेलिकप्टर विराटनगरमा ल्याण्ड भएपछि कार्यक्रमलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्दै समापन गर्नुभयो ।’

गएको मङ्सिर ५ र ७ गते तय भएको कार्यक्रम दुई पटक रद्द गरी आइतबारका लागि समय तय भएको थियो । मौसमले साथ नदिएपछि ओली जौबारी आइ नपुगेको बताइएको छ । 

इलाममा एक बजे आइपुग्ने भनिए पनि ताप्लेजुङबाट कार्यक्रम सकेर प्रधानमन्त्री ओली सवार हेलिकप्टर एक बजे मात्रै इलामतर्फ उडेको उपाध्यक्ष पराजुलीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया