विवाह रोकिएपछि पढ्ने रहर झनै बढ्यो, पालिकाले आर्थिक सहयोग गर्ने

 मंसिर १९, २०७७ शुक्रबार १६:२६:५२ | इन्द्रसरा खड्का
unn.prixa.net

पढेर आफ्नो खुट्टामा उभिन मन छ । किनकी महिला आफ्नै खुट्टामा उभिन नसकेर घरपरिवारको कचकच सहनुपरेको उहाँले साँझ बिहान देख्नु भएको छ ।  धेरै महिलाले अझै पनि आफूलाई चाहिने सामान किन्न श्रीमानको अघिल्तिर हात फैलाउनुपर्छ । यही कुराले श्रीमानको कचकच, सासु ससुराको गनगन सहने गाउँका महिलाको पीडा पनि उहाँलाई राम्रोसँग थाहा छ । 

त्यसैले पनि उहाँलाई मेहनत गरी पढेर आफैं आत्मनिर्भर बन्ने ईच्छा छ । ‘तर इच्छा भएर मात्र कहाँ हुँदो रहेछ र ? यसको लागि पनि त पैसा चाहिँदो रहेछ नि’ उहाँले दुःख सुनाउनुभयो । उहाँ हुनुहुन्छ, दैलेखको नौमुले  गाउँपालिका ५ नौगाउँकी १९ वर्षीया एलिसा सारु मगर । एलिसा अहिले कक्षा १२ मा पढ्नुहुन्छ । १२ कक्षासम्म पुग्नै उहाँले निकै संघर्ष गर्नुपर्यो ।

अहिले पनि कापी किताब किन्न धौ धौ छ । १२ कक्षासम्म त पुगियो, अब योभन्दा पछि कसरी पढ्ने भन्ने एलिसालाई चिन्ता छ । ‘एकातिर साँझ बिहानको छाक टार्नु, अर्कोतिर पढाइ खर्च कसरी जुटाउनु ? कसैसँग कर्जा मागौँ भने पनि तिर्नेबाटो छैन’ एलिसाले दुखेसो पोख्नुभयो । 

आमा र छोरी मात्र 

एलिसाको घरमा ७० वर्षीया बुढी आमा हुनुहुन्छ । उहाँको रेखदेख गर्ने जिम्मा पनि एलिसाकै काँधमा छ । एलिसा तीन महिनाकी हुँदा बुवाको निधन भयो । उहाँका दाइ दिदी नभएका हैनन् । तर घरमा कोही छैनन् । ‘जेठो दाइ कहाँ हुनुहुन्छ थाहा छैन । दिदी काठमाण्डौमा कसैको घरमा काम गर्दै पढ्दै गर्छे रे । अर्को दाइ इण्डियन आर्मीमा भर्ती भएको छ भन्ने सुनेका छौँ । तर, घरमा न कसैले फोन गर्छन्, न खर्च नै पठाउँछन्’ एलिसाले दाइ दिदीलाई सम्झँदै भन्नुभयो ।

कान्छो दाइ इण्डियन आर्मीमा भर्ती भएलगत्तै लकडाउन भयो । त्यसपछि उहाँले फोन गर्नुभएन । दाइ दिदीहरुले जीविकोपार्जनकै लागि घर छाडेपछि बुढी आमा र घरको जिम्मा एलिसाको काँधमा आयो ।
एलिसालाई कक्षा ८ सम्म पढ्न यति समस्या थिएन । किनकी आमाले खर्चको जोहो गर्नुहुन्थ्यो । बारीमा फलेका फलफुल बजारमा बेचेर पैसा ल्याउनु हुन्थ्यो । 

तर अहिले त्यस्तो छैन । आमाको उमेर ढल्कँदै गयो । बारीमा भएका फलफुलका बोटहरु पनि सुक्दै गए । बिस्तारै एलिसालाई पढाइ खर्च जुटाउन समस्या भयो । त्यसपछि आफ्नो लागि खर्च आफैंले जुटाउनु पर्यो । कि त पढाइ छोड्नु पर्यो,  कि त पैसा कमाउनु पर्यो । एलिसाले घरमै रक्सी बनाउन सुरु गर्नुभयो । 

पैसा कमाउने बाटो बन्द

पढाइ र घर खर्च जुटाउन एलिसाले घरेलु रक्सी बनाउन थाल्नुभयो । रक्सी बेचेर आएको पैसाले कापी कलम किन्न सजिलो भयो । तर अहिले गाउँमा रक्सी बनाउन पाइँदैन । गाउँमा झैझगडा बढ्न थालेपछि रक्सी बनाउन नपाइने नियम बन्यो । रक्सी बनाउन बन्द हुँदा एलिसाको आयआर्जनको बाटो नै रोकियो ।

‘कहिले गाउँमा बाटोघाटो, पुल बनाउने योजना आउँथे । त्यही काम गर्थेँ । अलिकति भए पनि पैसो आउँथ्यो । अहिले कोरोनाले गर्दा त्यस्ता योजना आउन पनि बन्द भए । कसरी पैसा कमाउनु ?’ एलिसाले भन्नुभयो । एलिसा भन्नुहुन्छ, ‘जे गर्न पनि पैसा मात्र चाहिन्छ । अब कसरी पढ्नु ? मलाई त पढ्न ठूलो रहर थियो ।’ 

गरिबीकै कारण बिहे गर्न दबाब

एलिसाको गरिबीको दुःख गाउँमा सबैलाई थाहा थियो । धेरैजसोले बिहे गरेर जान पनि सल्लाह दिन्थे । एलिसाले भन्नुभयो, ‘माइतीमा दुःख पाएकाले बिहे गरे सुख हुने भन्दै धेरैले त केटा देखाउनसम्म भ्याए । पढेर के गर्छौ ? त्योभन्दा त राम्रो केटा खोजेर बिहे गर न, तिमीलाई नै राम्रो हुन्छ भन्दै उनीहरुले भन्थे ।’

एलिसा १७ वर्षकी हुँदा काकी नाता पर्नेले बिहेको कुरा चलाइन् । केटा कस्तो छ ? उसले के गर्छ ? कति वर्षको हो ? पढेको छ कि छैन एलिसालाई केही थाहा थिएन । तर बिहेको लागि सुर्खेतको केटा गाउँकै काकी नाता पर्नेले रोजीसकेकी थिइन् ।

‘बिहे गर्न मन त थिएन । तर माइतीमा दुःख पाएकालाई बिहे गरेपछि सुख हुन्छ, यहाँ एकछाक पेटभरी खान त पाइँदैन, बिहे गरे त पेटभरी खान मिल्छ भन्नुभयो काकीले । मैले पनि ठिकै होला सोचेर अँ भनेकी हुँ’ एलिसाले दुई वर्षअघिको कुरा सुनाउनुभयो । ‘केटालाई चिनेको त थिइनँ । तर राम्रो हुन्छ भनेपछि मन नभए पनि बिहेको लागि तयार भएँ’ एलिसाले केटा भेटेको दिनको कुरा सम्झनुभयो ।

१७ वर्षकी एलिसाको सुर्खेतको केटासँग बिहे हुँदैछ भन्ने कुरा सहजकर्ता सुजता सलामी मगरले थाहा पाउनुभयो । खबर पाउनेबित्तिकै उहाँ एलिसालाई भेट्न उहाँकै घर जानुभयो ।  सुजताले एलिसालाई बिहेकोबारेमा सोध्नुभयो । एलिसाले आफ्नो घरको समस्या सुनाउँदै बिहे गर्न मन नभए पनि काकीले कुरा गरिसकेपछि गर्न तयार भएको सुनाउनुभयो । 

एलिसालाई फकाएर बिहे गराइदिन लागेको थाहा पाएपछि  सुजताले एलिसाकी काकी नाता पर्नेसँग फोनमा कुराकानी गर्नुभयो । उमेर नपुगेर बिहे गर्ने र गराउने दुवैलाई कारबाही हुने भन्दै अहिले बिहे गर्न हुँदैन भनेर सम्झाउनुभयो । फोनबाट सम्झाउँदा नमानेपछि एलिसाले भेटेरै सम्झाउनुभयो । बालविवाह गराएमा प्रहरीलाई खबर गर्छु भनेपछि एलिसाको विवाह रोकियो ।

‘पढाउने जिम्मा पालिकाले लिन्छ ’

विवाह रोकिएपछि एलिसालाई पढ्ने रहर अझै जागेको छ । तर आर्थिक अवस्था कमजोर छ । एलिसाको यस्तो अवस्था थाहा पाएपछि नौमुले गाउँपालिकाले एलिसालाई आर्थिक सहयोग गर्ने जनाएको छ ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले आफ्नो गाउँपालिकामा कुनै पनि किशोरी आर्थिक समस्या भइ पढ्न नसक्ने अवस्था भए गाउँपालिकाले नै यसको जिम्मा लिने बताउनुभयो ।
‘एलिासाको अवस्थाबारे सम्बन्धित वडाका अध्यक्षसँग कुरा गर्छु । साँच्चिकै उहाँको अवस्था यस्तै हो भने एलिसाको पढाइ खर्च गाउँपालिकाले दिन्छ’ कोइरालाले भन्नुभयो ।


(कार्यक्रम खुल्ला धरती, खुल्ला आकाशबाट) 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया