बुवा, अब छोरीहरू कसरी सुरक्षित हुनु ?

 मंसिर २१, २०७७ आइतबार १४:२१:४१ | इन्द्रसरा खड्का
unn.prixa.net

पूजनीय बुवा,
साष्टाङ्ग ढोग र दण्डवत् ।

आराम छु आरामको कामना गर्दछु । हुन त अहिले सञ्चो बिसञ्चोको कुरा यसरी चिठीपत्रमै लेख्नुपर्छ भन्ने छैन । हात हातमा फोन छन् । जतिबेला पनि हालखबर बुझ्न पाइन्छ । त्यति मात्र हो र, अहिले त अनुहार हेर्न मन लागे सजिलै भिडियाेमा कुराकानी पनि गर्न सकिन्छ । हामी विकटकै भए पनि घरमाथिको डाँडामा गए त फोरजी राम्रोसँग चल्छ, थाहा छ नि । 

समय फेरिए । नयाँ प्रविधि आयो । अहिले त संसारको जुनसुकै ठाउँमा भए पनि आँखै अगाडि जसरी कुराकानी गर्न सकिन्छ । अब पहिले जस्तो रहेन । उबेला तपाईं काम गर्न भारत गएको बेला आमाले तेरो बालाई चिठी लेखिदे है भनेर मलाई भनेझैं अहिले कसैले कसैलाई भन्नुपर्ने अवस्था छैन ।

सबैजना शिक्षित हुँदैछन् । चिठी लेख्न नजान्ने र उच्चारण गर्न नसक्ने हाम्रा गाउँका आमा बज्यैहरु पनि अहिले फोन र फेसबुक चलाउने भएका छन् । अहिले तपाईं पनि भारतमा हुनुहुन्न । कस्तो भाग्यमानी, आफ्नै गाउँमा बसेर गाउँका केटाकेटीलाई शिक्षा दिइरहनुभएको छ । 

बुवा आज म हजुरलाई सञ्चो बिसञ्चाे भन्दा पनि अहिले हाम्रो समाजमा भइरहेको खबर सुनाउन र तपाइ जस्तै बुवालाई यो पत्र लेख्दैछु । एउटा जन्मदाता र सन्तानप्रतिको सम्बन्ध कस्तो हुन्छ, यो भनिरहन पर्दैन । र यसको म शब्दमा वर्णन नै गर्न सक्दिनँ । 

एउटा बाको लागि उसको छोरी आफ्नो मुटु, कलेजोभन्दा पनि प्यारी हुन्छे । कलेजोमा खराबी आए पैसा भए अर्को कलेजो प्रत्यारोपण गर्छन । मुटुमा खराबी आए शल्यक्रिया गरिन्छ । तर आफ्नो सन्तानलाई ठेस लागेको पनि बाआमाले सहन सक्दैनन् ।  तर बुवा, हिजोआज कहाँ त्यस्तो छ र बा छोरीको सम्बन्ध । दिदीभाइको सम्बन्ध, काका छोरीको सम्बन्ध । मान्छे बौलाउन थाले । को छोरी, को भतिजी, को भाञ्जी बिर्सन थाले । यौन पिपासु यतिसम्म बने कि, न त आफ्नो रगत चिन्छन्, न त नाता । 

आखिर किन मान्छे यसरी बौलाउन थाले ? बुवा सन्तानको सहारा मात्रै होइन, मार्गदर्शक पनि  हो । अझ मैले त सुनेकी थिएँ बुवा सन्तानको लागि शान्ति सुरक्षाको कवच हो । तर, त्यो हैन रहेछ बुवा । अचेल दिनहुँ छोरीहरु आफ्नै बुवाबाट असुरक्षित भइरहेकी छन् । बुवा, हिजोआज त्यस्तो कुनै दिन हुँदैन, जुन दिन बुवा, काका, दाइभाइ मामा लगायतका आफ्नै आफन्तबाट बालिका बलात्कृत नभएको होस् । 

आफ्नै जन्मदाताले आफैंमाथि गरेको व्यवहारले जलिरहेकी छोरीलाई केही यूट्युबरले र्याखर्याख्ती पार्छन् – बुवाले कसरी, कति बजे बलात्कार गर्यो ? त्यो बेलामा कस्तो महशुस भइरहेको थियो भन्न समेत बाँकी राख्दैनन् । एउटा छोरी जो आफ्नै बाबुबाटै असुरक्षित हुन्छे भने उ कहाँ सुरक्षित हुन सक्छे ? आफ्नै बुवाबाट यस्तो हुन्छ भन्ने सोच्नसम्म त के कल्पना पनि नगरेकी उ कति पीडामा हुन्छे होला ?  

बुवा यस्ता घटनाहरु दिनहुँ सुन्दा तपाईंजस्तै धेरै बुवाहरुको शीर निहुरिँदो हो । जसले आफ्नो छोरीलाई मुटु र कलेजोमा राखेका हुन्छन्, उनीहरुलाई लाग्दो हो, हे भगवान यस्ता बुवा कस्ता होलान् । मनमनै त भन्नु पनि हुन्छ होला, ए नरपिशाच हो तिमीहरु किन आफ्नै छोरीलाई चिन्दैनौ ? यस्ता समाचारले छोरीको मुख हेर्न समेत लाज लाग्दो हो ? बुवा सबै बुवा तपाईंजस्तै कहाँ हुन्छन् र ? आज तिनै नरपिशाच, यौन पिपासु बाबुहरुले गर्दा तपाईं जस्तो बा र छोरीहरुलाई एक्लै हिँड्न, बस्न पनि गाह्रो परिरहेको छ । छोरीहरुलाई मनमनै डर लाग्छ, कतै मेरो बा पनि त्यस्तै हुन्छ कि ?

एउटा महिलालाई आफ्नो छोरी घरमा छोडेर बाहिर निस्कन डर लाग्न थालेको छ । एउटी आमा आफ्नै श्रीमानसँग छोरी छोडेर ढुक्कले बस्न सक्दिनन् । किन थाहा छ बुवा ? यहाँ बुवाले आफ्नै छोरीप्रति गरिरहेको घिनलाग्दो व्यवहारले ।

सानी छोरीले थाहा पाउँदिनन् आफ्नोे बाले मलाई माया गरेको हो कि मलाई छोएर मज्जा लिरहेको छ भन्ने ।  बुवा तपाईंलाई टिकटकको बारेमा त्यति राम्रो थाहा छैन होला । किनकी तपाईं फेसबुक त त्यति चलाउनु हुन्न । कहाँबाट टिकटकबारे थाहा हुनु है ?

हिजोआज टिकटकमा निकै भाइरल भएका तीनवटा भिडियो छन् । एउटा भिडियोमा बुवा जस्तै एकजनाले काखमा नानीलाई राखेर छातीमा नराम्रो तरिकाले छोइरहेको देखिन्छ भने अर्को भिडियोमा काखमा राखेर गालामा असजिलो तरीकाले म्वाइ खाइरहेको देखिन्छ । अनि अर्को भिडियोमा सानी छोरीलाई काखमा राखेर जिब्रो निकालेर म्वाइ खाइरहेको देखिन्छ, जहाँ छोरीहरु अप्ठ्याराे तरिकाले बसिरहेको देख्न सकिन्छ । 

यसबारे केही महिला अधिकारकर्मीहरुले आवाज उठाएपछि अहिले यो भिडियोबारे प्रहरीले छानबिन गरिरहेको छ । बुवा तपाइ त शिक्षक हो । बिन्ती अब तपाईंले साना नानीहरुलाई यस्तो गलत तरिकाको स्पर्श बारेमा जानकारी दिनुहोस् न है ? स्पर्श एकनास हुँदैन ।

हामीले समान्य मानिरहेको कतिपय स्पर्श उसले गलत नियतले गरिरहेको हुन्छ भन्ने पनि सिकाइदिनुस् ती नानीलाई । हाम्रा शरीरका संवेदनशील चार अंग ओठ, छाती, दुई खुट्टा बीचको अगाडि र पछाडि जहाँ कसैले छुन्छ भने त्यो राम्रो हैन भन्ने सिकाउनुहोस् । किनकी यस्तो विषय विद्यालयमा पढाइ हुन र शिक्षकले सिकाउन आवश्यक छ ।  

उसले कुन तरिकाले छोइरहेको छ ? उसले छोइरहँदा उसको हाउभाउ कस्तो छ ? उसको स्पर्शले आफूलाई गाह्रो महसुस भएको छ भने यो हिंसा हो भन्ने बुझाइदिनुस् । अझै केटाकेटीलाई यी चार अंगमा कसैले छुन्छ भने यो त यौन दुर्व्यवहार नै हो भनेर सिकाइदिनुस् न है ?  विद्यालयमा यस्ता स्पर्श र यौन दुर्व्यवहारबारे सिकाइ नहुँदा पनि छोरीहरुले हिंसा, दुर्व्यवहार के हो थाहा पाएका हुँदैनन् । कतिपय किशोरीले थाहा पाए पनि भन्न सकिरहेका हुँदैनन् । 

अझै आफ्नो बा, काका, दाइहरुले यस्तो व्यवहार गरेका छन् भने त यो कुरा बाहिर जाँदा मेरै मान्छेको बदनाम हुन्छ भन्ने डरले धेरै छोरीहरु वर्षौंदेखि आफूमाथि भएको शोषण सहेर बसेका हुन्छन् । कतिपय छोरीले हिम्मत राखेर आमासँग कुरा शेयर गर्छन् । तर आमाले झट्ट पत्याउँदिनन् । उल्टै गाली गर्छिन् ।

आमा, काकी, भाउजु कसैले पत्याउँदैनन् । अनि ती छोरी सबैको नजरमा आफैं दोषी हुन्छे । मैले आफ्नै बुवा, काकाबाट बलात्कृत भएर घरबाटै निकालिएका छोरीहरुलाई भेटेकी छु । उहाँहरुका कुरा सुनेकी छु । मैले यस्तै एकजना छोरीलाई भक्तपुरमा भेटेकी थिएँ । तर, उ उनको सौतेनी बुवा थियो । 

उमेरले १५ वर्षकी थिइन् । सौतेनी बुवाले आफूमाथि दुर्व्यवहार गर्दैछ भन्ने थाहा पाएर पनि उनले भन्न सकेकी थिइनन् । एकदिन आमा नभएको बेला उनी त्यही बाउबाट बलात्कृत भइन् । सौतेनी बाबुको घिनलाग्दो कर्तुतले उनलाई निकै पोल्यो । तर, आमालाई भन्न सकिनन् ।  आमा नभएको मौका छोपेर सौतेनी बाबुले उनलाई दुई वर्षसम्म बलात्कार गर्यो । दुई वर्षपछि उनले काकी नाता पर्नेसँग आफूमाथि भएको हिंसा सुनाइन् । उनै काकीले त्यो कुरा उनकी आमासँग भनिन् ।

तर आमाले उल्टै गाली गरिन् । आमाले नै गाली गरेपछि ती किशोरीले महिला अधिकारकर्मी गुहारिन् ।  महिला अधिकारकर्मीको सहयोगमा प्रहरीमा उजुरी पनि दिइन् । प्रहरीले बुवालाई पक्राउ पनि गर्याे । बाबु अहिले हिरासतमा भए पनि उनले आमाको पीडा सहनु पर्यो ।  आमाले साँझ बिहान गाली मात्र हैन, कुटपिट नै गर्न थालिन् । तेरो बालाई जसरी हुन्छ छुटाउनुपर्छ भन्दै आमाले अहिलेसम्म गाली गर्न छोडेकी छैनन् । आमाको गाली र पिटाइले बा पक्राउ परेको एक महिनापछि उनी बयान फेर्न बाध्य भइन् । 

मेरो बाले मलाई बलात्कार गरेको हैन, मैले अञ्जानमा बुवामाथि यस्तो आरोप लगाएँ भनिन् । तर महिला अधिकारकर्मीसँग पहिले उनले भनेको कुरा सबै रेकर्ड प्रमाण सहित भएकाले उनको फेरिएको बयानले बुवा छुट्न पाएनन् । अब आफैँ भन्नुहोस् बुवा सानी छोरीलाई त थाहा हुँदैन । जसलाई थाहा हुन्छ, ती छोरीलाई आमाले नै कुरा बाहिर ल्याउन दिँदैनन् । यसरी नै छोरीहरुले बाआमाको डर र समाजको डरले आफूमाथि भएको शोषण दमन पनि सहेर बसिरहेका हुन्छन् ।

मलाई थाहा छ, सबै बुवा एउटै हुँदैनन् ।  मेरो बा जस्तै अरु धेरै बा हुनुहुन्छ, जो आफ्नो छोरीलाई यस्तो नजरले हेर्न त के सोच्नसम्म सक्दैनन् । तर यस्ता बाहरु पनि छन्, जो बलात्कार आरोपमा पक्राउ परिरहेका छन् ।  कतिपय हिरासतमा छन् । कतिपय अझै फरार छन् । 

म कति भाग्यमानी जसले तपाईं जस्तो बुवा पाएँ । तपाई जस्तै बा भएका सबै छोरी भाग्यमानी । सबै बाहरु तपाईं जस्तै हुन् ।  अन्तमा नेपालभरिका बा, जो बा बनिसक्नुभएको छ, जो बा बन्ने तयारीमा हुनुहुन्छ, तपाईंहरु साँच्चिकै बा बन्नुहोस् है । छोरीलाई चिन्नुहोस् ।  अहिले समाजमा भइरहेका बाको नाममा जन्मिएका नरपिशाचका विरुद्धमा आवाज उठाऔँ । यस्ता बाहरूलाई हजारौं जन्ममा पनि मानिस बन्न लायक नहुने गरेर कठोर सजाय दिऔँ । 

मेरा बा जस्ता तपाईं सबै बाहरुको जय होस् ।

उही तपाईंकी छोरी 
इन्द्रसरा

अन्तिम अपडेट: बैशाख ८, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया