हप्तामा दुई दिन बिदा दिन सिफारिस, काम बढ्ने र खर्च घट्ने दाबी

 मंसिर २५, २०७७ बिहिबार १७:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।

कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई दिन बिदा उपयुक्त रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।

समितिमा पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे तथा अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि रहेका थिए ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्च कटौती, इन्धन बचन, उत्पादकत्व वृद्धिलगायतका विषयको अध्ययनपछि हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने निष्कर्ष निकालिएको समितिले जनाएको छ ।

अध्ययन गरिएका एक सय २७ देशमध्ये एक सय १५ वटा देशमा दुई दिन बिदा दिने चलन रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा पनि नेपालबाहेक अरु सबै देशमा हप्तामा दुई दिन बिदा नै रहेको र यसले आन्तरिक पर्यटकको सङ्ख्या बढाएको, कामको प्रभावकारिता धेरै रहेको र विद्युत् तथा इन्धन खपत र अन्य सरकारी खर्चमा पनि कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वका कैयौँ देशमा हप्तामा ४० घण्टा मात्रै काम गर्ने चलन रहेको र यसको लागि ६ दिन कार्यालय जानुको साटो पाँच दिन कार्यालय गए पुग्ने चलन रहेकाले नेपालको लागि पनि त्यही उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा २०४८ सालमा प्रशासन सुधार आयोगले हप्तामा दुई दिन बिदा दिन सिफारिस गरेअनुसार २०५६ सालमा काठमाण्डौबाट यो प्रावधान लागू भए पनि देशैभरि पुग्न नपाइ असफल भएको थियो ।   

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया