“बोल्नेको पिठो बिक्ने” युगका मौन कलाकार

 मंसिर २७, २०७७ शनिबार ७:१२:१७ | कुमार रञ्जित
unn.prixa.net

ललितपुर - ६ दशक लामो शब्दहीन मौन यात्रामा संघर्ष गर्दै चलाइएका श्रृजनशील कुचीहरुका कार्यले जब साक्षात्कार गर्दछन्, तब श्रृजनाका फलहरुको सुन्दरताका पारखीहरु निःशब्द हुन पुग्दछन् । जति निःशब्द छन्, कलाकार नेत्रराज बज्राचार्य र उहाँले श्रृजना गरेका कृतिहरु, त्यति नै सुन्दर तथा आकर्षक चित्रकलाहरुले उहाँलाई सफल कलाकारको पहिचान दिन कुनै कञ्जुस्याइँ गरिरहेका छैनन् । 

६७ वर्षअघि ललितपुरकी पूज्य साक्षात् कुमारी बनेकी धन कुमारीको आशन ग्रहण गर्दै छड्के नजर लगाउँदै गरेको फोटो कुनै विदेशी फोटोग्राफरले खिचेका थिए, जसको श्याम-श्वेत कागजी छपाइप्रति धेरै वर्षपछि उहाँको ललितपुर महानगर (पाटन) को गाःबहाःमा रहेकाे घरमा आइपुगेको थियो ।

सानी साक्षात् कुमारीले छड्के नजर परिरहेको त्यस फोटोको हुबहुप्रति तर रङ्गीन चित्रमा उतारेर जीवन्त स्वरुप प्रदान गर्ने कार्य उहाँकै भाइ नेत्रराजले गर्नुभयो । जसलाई अहिले देख्ने जोकसैले प्रशंसा नगरि बस्न सकेका छैनन् । 

ललितपुर, गाःबहाःमा रत्नाकर महाविहारमा विराजमान गराइने साक्षात् कुमारी राजकीय सम्मान प्राप्त देवी हुनुहुन्छ । ती देवी ललितकला नगरी पाटनको इतिहास र संस्कृतिको अभिन्न अंगको निरन्तरता हुँदै विभिन्न कालखण्डको साक्षी बनिरहेको पाइन्छ । बुंगद्यः (रातो मत्स्येन्द्रनाथ) को प्रत्येक वर्ष जाउलाखेलमा हुने गरेको भोटो जात्रामा राष्ट्र प्रमुखको निधारमा ललितपुरका तिनै कुमारीबाट टीका लगाउने परम्परा रहँदै आएको छ ।

ललितपुरमा आफू नजन्मिँदै कुमारी हुने सौभाग्य पाएर आशन ग्रहण गर्दै चञ्चल स्वभावले छड्के आँखा लगाउँदै गरेकी आफ्नै दिदीको ढिलो गरी प्राप्त फोटोलाई नेत्रराजले केही वर्षअघि मात्रै अदभूत कलाकारिताको खुबीले पूर्णता दिनुभएको हो । जुन अहिले बिक्रीमा रहेको उहाँले खुलस्त पार्नुभयो ।

आफ्नो समाज, धर्म, संस्कृतिसित सम्बन्धित संस्कार कर्मलाई सजीवता प्रदान गर्दै चित्रमा उतार्ने कलाकार नेत्रराजको प्रष्ट बोल्ने क्षमता बालककालमै गुमेको दूर्भाग्यपूर्ण घटना उहाँको आफ्नै स्मरणमा पनि रहेको छैन । तैपनि उहाँ चित्रका माध्यमबाट स्पष्ट बोल्ने र बुझाउने कलाकारितामा चित्रण गर्नुहुन्छ । उहाँका चित्रकलाहरु पारखीहरुले देशका विभिन्न स्थानका साथै यूरोप र अष्ट्रेलियाका विभिन्न सहरमा पुर्याएर सजाएका छन् । 

कलाकार नेत्रराजका आकर्षित पार्ने चित्रमा भारतीय भूमि महाराष्ट्रमा रहेकाे विश्व सम्पदा गुप्तकालिन गुफा “अजन्ता” मा रहेका चित्रकलालाई आफ्नो मौलिक रङ्गहरुमा जीवन्त तुल्याएर कोरिएको आधुनिक चित्र पनि रहेको छ । जसको भव्यतालाई देख्ने जोकसैले त्यसको सजीव वर्णन गर्न सक्दछन् ।

त्यसका अलावा उहाँका सयौँ चित्रहरुले विभिन्न पुस्तक, क्यालेण्डर साथै फ्रेमहरुमा सम्मानित स्थान पाएका छन् । उहाँको घर पुग्नेहरुले पनि त्यहाँका प्रत्येक कोठा र भित्ताहरुमा सजाइएका चित्र हेरेर कला सङ्ग्रहालयको अनुभूति गर्न पाइरहेका छन् । 

कलायात्राका पाँच दशक बढी समयावधिमा हजारौँ साना र ठूला परम्परागत साथै आधुनिक चित्रकला श्रृजना गर्नुभएका नेत्रराजले आफ्ना श्रृजना र कृतिहरुलाई जनमानस र समुदायमा पुर्याउन दुई पटक आफ्नै घर र मंगलबजारमा पसल नै राख्नुभयो । तर घरायसी साथै विभिन्न पारिवारिक कारणले त्यसलाई निरन्तरता दिन नसकेको तितो अनुभव पनि गर्न पाउनु भयो ।

बढ्दो उमेर, कमजोर हुँदै गएका दृष्टि क्षमता र अनेकौँ सामाजिक कारणबीच अहिले पनि उहाँले चित्रकला श्रृजनाको साधनालाई निरन्तरता दिँदै आउनुभएको छ । साङ्केतिक भाषामा आफ्नो कला साधनालाई परिवारले साथ र सहयोग दिँदै आएकोमा सन्तुष्टि व्यक्त गर्नुहुने नेत्रराज विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन भएको बेलामा पनि ध्यान केन्द्रीत गरेर श्रृजनारत हुनुहुन्छ ।

घरको माथिल्लो तलामा बनाइएको क्यानभासयुक्त कार्यथलो बनाइएको कोठामा दिनको कम्तीमा ५ घण्टा समय व्यतीत गरेर चित्रकला श्रृजना गरिरहनु भएको उहाँकी धर्मपत्नी चम्पा बज्राचार्यले बताउनु भयो । 

सुन्दर कलाकृतिका सर्जकमध्ये एक कलाकारका रुपमा नेत्रराजलाई थुप्रै स्थानीय संघ-संस्थाहरुले पुरस्कार र सम्मान प्रदान गरेका छन् । तर सरकारका सम्बन्धित निकायले अझै उहाँको साधनालाई देख्न सकेको व्यावहारिकतामा पाइएको छैन । अझै पनि उहाँलाई एक राष्ट्रिय कलाकारका रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चिनाउने काम गरेको पाइँदैन ।

“बोल्नेको पिठो बिक्ने” लोकोक्ति कलाकार नेत्रराजको जीवनमा हुबहु लागू भएको देखिन्छ । आफ्ना कलाकृतिहरुलाई अत्यन्तै स्नेहपूर्वक सुरक्षित राख्नुभएका नेत्रराज बाहिरी प्रतिस्पर्धात्मक वातावरणभन्दा टाढै र भिन्न हुनुहुन्छ । परिवारजनले उहाँलाई चित्रकला श्रृजना गर्ने वातावरण प्रदान गरेर अत्यन्तै स्नेह दिइरहेका छन् । तैपनि उहाँभन्दा कनिष्ठ कयौँ कलाकारहरुका प्रतिस्पर्धात्मक तडक-भडक देख्दा कलाबाट साधना टाढिएको महशुस जोकसैले गर्न सक्दछन् ।      

अन्तिम अपडेट: बैशाख ६, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया