व्यङ्ग्य - नक्सा र सगरमाथामा चुच्चो : नागरिक चाहिँ फुच्चो र बुच्चो

 मंसिर २७, २०७७ शनिबार ९:२३:५४ | मिलन तिमिल्सिना
unn.prixa.net

मान्छेहरुले भन्थे - दुई तिहाईको सरकारले के नाप्यो ? कम्युनिष्ट सरकारले के नाप्यो ? केही पनि नापेन भनेर विरोध मात्रै गर्नेहरुलाई मुखभरिको जवाफ दिने गरी सरकारले पर्वत नै नापेर देखाइदियो ।

नाप्नै परेपछि सानोतिनो किन नाप्ने ? संसारकै अग्लो चुचुरो सगरमाथा नै नापेर देखाएपछि अरु केही नाप्नै परेन । त्यसैले सरकारले अरुथोक केही नाप्नै नपर्नेगरी सगरमाथाको उचाई नापेर देखाइदियो । अब आफ्नो कार्यकालभरि यो सरकारले अरुथोक नाप्नै पर्दैन । सगरमाथा नापें भनेरै सगरमाथाको चुचुरो झै सरकारले नाक चुच्चो गरेर हिँड्न पाउने भयो ।

सरकारले नापेर सगरमाथाको चुचुरोमा झण्डै १ मिटर चुच्चो थपेपछि धेरैका मनमा प्रश्न र तर्कका चुच्चोहरु सल्बलाउन थालेका छन् । सबैले स्कुल पढ्ने बेला थाहा पाएको कुरा निर्जीव वस्तु बढ्दैन । सगरमाथा पनि निर्जीव हो । तर अरु निर्जीव बस्तु नबढ्ने, सगरमाथा चाहिँ बढ्ने ? सगरमाथा मान्छेका बच्चा हो ? गाईको बाच्छा हो ? रुखबिरुवा हो ? हिजोभन्दा आज बढ्ने, आजभन्दा भोलि अग्लिने ? खै, नाप्यौँ भनेर फुरफुर हुनेसँग त यसको जवाफ छैन, अरुसँग के होला र ?

अरु निर्जीव बस्तु नबढ्ने, सगरमाथा चाहिँ बढ्ने ? सगरमाथा मान्छेका बच्चा हो ? गाईको बाच्छा हो ? रुखबिरुवा हो ? हिजोभन्दा आज बढ्ने, आजभन्दा भोलि अग्लिने ? खै, नाप्यौँ भनेर फुरफुर हुनेसँग त यसको जवाफ छैन, अरुसँग के होला र ?

प्रश्न उठाउन र सोच्न नेपालीलाई फुर्सद नै फुर्सद छ । कामभन्दा बढी फुर्सद हुनेहरुलाई अर्को चिन्ता थपिएको छ - अब बढेको सगरमाथा चढ्ने पहिलो आरोहीले सफल आरोहण गरेपछि हिलारी र तेन्जिङले बनाएको पहिलो कीर्तिमान भंग हुन्छ त ? यसको जवाफ पनि राम जाने ।

अर्काथरीले चिन्ता गरेका छन् - एकपटक सगरमाथा चढौँ भनेको, झन् अग्लो भएछ । पहिले आँट आएन, अहिले अलिअलि आँट आएर चढ्न खोजेको झन् अग्लो भएपछि आएको आँट नै हरायो, कसरी चढ्नु ? यी प्रश्न र चिन्ता आफ्नो ठाउँमा छ ।

अर्को अचम्म चाहिँ सगरमाथाको उचाइ थपिएको सार्वजनिक भएदेखि राम्रोसँग घाम लाग्न छोडेको छ । मौसमविद्लाई समेत फेल खुवाउने गरी केही नेपालीले यसको गाँठी कुरा पत्ता लगाएका छन् । त्यो हो - सगरमाथाको थपिएको ८६ सेन्टिमिटरको भागले घाम छेक्यो । त्यसैले नयाँ उचाइ सार्वजनिक भएदेखि राम्रोसँग घाम लाग्न छोडेको हो । 

जे होस् सगरमाथाको उचाइ बढेपछि धेरै नेपालीको तार्किक क्षमता र ज्ञान पनि बढेको छ । हुन त नेपाल र नेपालीको के मात्र बढेको छैन । अस्ति भर्खर देशकै क्षेत्रफल बढ्यो । नेपालको नक्साको चुच्चो बढ्यो । अहिले सगरमाथाको चुच्चो अग्लियो, बढ्यो । भ्रष्टाचार, महँगी, बेरोजगार, गरिबी, भद्रगोल, अराजकता र अस्थिरताको चुच्चो त सधैं बढेको बढ्यै छ ।

पद, पावर र पैसा मात्रै बढाउन खोज्ने नेताहरुका भुँडी र भुँडी बिसाउने गाडी र महल पनि बढेको बढ्यै छ । एकआपसमा जुध्नको लागि हिजोआज सत्तारुढ दलका शीर्ष नेताहरुको सिङको चुच्चो बढेको छ । मुख्य विपक्षीका मुख्य नेताको आशा र लोभको चुच्चो बढेको छ । 

नाप्ने नै हो भने नागरिक पनि के कम ? नेतालाई गाली गर्ने र तिनै नेतालाई भ्रष्टाचार गर्न उकास्ने अनि अराजकता बढाउन प्रोत्साहन गर्ने नागरिक यहीँ छन् । कोरोनालाई समेत जिल खुवाउनेगरी अनावश्यक भीडभाड र तडकभडक गरेर स्वास्थ्य मापदण्डलाई अटेर गर्ने नागरिक पनि यहीँ छन् । 

नेता पनि बढेकै छन् । कर्मचारी पनि बढेकै छन् । आयस्रोत र कमाइ नदेखिए पनि घर अग्लिएकै छन् । सेवासुविधा थपिएकै छन् । फरक त सगरमाथाको उचाइ नापे झैँ यस्ता कुरा ननापेको मात्रै हो । नाप्नुपर्ने गरिबका दुःख र पीडा कहिल्यै नापिएनन् । नाप्नुपर्ने सिमानाहरु पनि नापिएनन् । बाटोघाटो, सडक, पुलहरु  न बन्छन्, न त नापिन्छन् । अपराधीका अपराध र भ्रष्टाचारीका भ्रष्टाचार पनि नापिएनन् । यस्ता कुरा नाप्न त हिम्मत पनि हुनुपर्यो । 

जेहोस् नाप्नुपर्ने धेरै कुरा ननापिए पनि हामीसँग झनै अग्लिएको सगरमाथा छ । गुराँस छ, डाँफे छ । जनक, सीता र गौतमबुद्धको जन्मभूमि यहीँ छ । बलभद्र र नालापानीको कथा यहीँ छ । सबैथोक छ, तर धेरै नेपालीको पेट खाली छ, आङ नांगो छ । 

तै पनि केही छैन, देशको नक्सा र सगरमाथामा त चुच्चो थपिएकै छ । हामी त पहिले पनि फुच्चो, अहिले पनि फुच्चो । पहिले पनि बुच्चो, अहिले पनि बुच्चो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया