ट्रम्प प्रशासनको दबाबपछि अमेरिकामा फाइजरको खोपले पायो अनुमति

 मंसिर २७, २०७७ शनिबार ११:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण  फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति पाएको २४ घण्टाभन्दा कम समयमा नै खोप वितरण थालिने बताउनु भएको छ ।

यसअघि एफडीएका प्रमुख स्टिफन हानलाई खोपलाई स्वीकृति दिन वा राजीनामा दिन ह्वाइट हाउसले दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले बताएका थिए । तर यो दाबी सत्य नभएको हानको प्रतिक्रिया छ । खोपलाई स्वीकृति दिनुअघि अमेरिकी विज्ञले अमेरिकामा पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा समस्या नहुने सुझाव दिएका थिए ।

विश्वमा कोरोना भाइरसबाट अमेरिका सबैभन्दा प्रभावित देश हो । त्यहाँ अहिलेसम्म कोरोनाका कारण दुई लाख ९२ हजार जनाको ज्यान गइसकेको छ भने एक करोड ६२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । अमेरिकाअघि फाइजरको खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले अनुमति दिएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया