बालविवाहको असर : छोरी बोकेर माइत

 पुस ३, २०७७ शुक्रबार १२:२८:५ | इन्द्रसरा खड्का
unn.prixa.net

उमेर नपुग्दै गरेको बिहेले शारीरिक र मानसिक असर गर्छ । अझै बढी असर त स्वास्थ्यमा हुन्छ । पहिले अभिभावकको निर्णयबिना आफैँ भागेर बिहे गरेका धेरैजसो किशोरकिशोरी अहिले पछुताइरहेका छन् । यसैगरी पछुताउनेमध्येमा पर्नुहुन्छ, नैना रैगामी मगर । दैलेखको नौमुले गाउँपालिकाकी २० वर्षीया नैना तीन वर्षीया छोरीसहित अहिले माइतीमै बसिरहनुभएको छ । 

श्रीमान र घरपरिवारसँग सम्बन्ध राम्रो नभएपछि उहाँ माइती फर्कनुभएको हो । ‘कसैलाई नसोधी आफैँ भागेर बिहे गरेँ । अरुको घर खान निकै गाह्रो हुँदो रहेछ । सासुको कचकच त्यो घरमा त बस्नै सकिनँ,’ नैनाले आफ्नो दुखेसो पोख्नुभयो । छोरीलाई काखमा राख्दै नैनाले थप्नुभयो, ‘दिनहुँ छोरी बढ्दै छे, उसको पढाइलेखाइ गर्नुपर्यो । न त मसँग छोरीको जन्मदर्ता छ, न त हाम्रो बिहे दर्ता नै । समस्या त अब पो हुने भयो ।’

नैना र नौमुलेकै नौगाउँका नवराज सलामी मगरबीच कक्षा १० मा पढ्दै गर्दा विवाह भयो । उनीहरुले २०७५ सालमा भागेर बिहे गरे । बिहे गर्दा नैना १७ वर्षकी हुनुहुन्थ्यो भने, नवराज १९ वर्षका थिए । विवाह गर्ने उमेर समेत नपुगेकाले नैनालाई स्थानीयको पहलमा घर फर्काइयो । तर, नैना गर्भवती रहेको थाहा पाएपछि आफ्नै घरमा बस्न भन्दै फेरि घर पठाइयो । 

विवाह गरेको एक महिनासम्म राम्रै थियो । बिहेपछि नैना नवराजसँगै विद्यालय जान थाल्नुभयो । तर नवराजको आमाले नैनालाई पढाइ छोडेर घरको काम गर्नुपर्ने बताएपछि त्यही दिनदेखि सुरु भयो, नैनाको घरमा खटपट ।

नैनालाई पढ्ने रहर हुँदा सासुले विद्यालय जान नपाउने भनेपछि नैना फर्केर माइती जानुभयो । गर्भवती भएका कारण नैना एक महिनापछि फेरि नवराजसँगै घर फर्कनुभयो । तर फेरि घरमा कचकच सुरु भयो । ६ महिनापछि नैना फेरि माइती नै फर्कन बाध्य हुनुभयो । 

छोरी जन्मेपछि नैनाका श्रीमान नवराजले पनि आमाको कुरा सुन्न थाले । ‘पहिले आमासँग झगडा भए पनि श्रीमानले त साथ छोडेको थिएन । बिस्तारै श्रीमान पनि आमा जस्तै बने । अहिले त मसँग बोल्नै छोडे’ नैनाले भन्नुभयो । नैनालाई अब के गर्ने भन्ने चिन्ता बढेको छ ।

माइतीमा साना भाइबहिनी र आमा मात्र छन् । साना भाइबहिनीको हेरचाह गर्ने, पढाइ खर्च जुटाउने र छाक टार्ने जिम्मेवारी एक्लै आमाको काँधमा छ । नैनाको घरबार राम्रो नहुँदा नैनालाई भन्दा ठूलो पीर त आमालाई परेको छ ।

‘छोरीको घर बसे त मलाई पनि सन्तोष हुन्थ्यो । अहिले यस्तो हुँदा त मलाई पनि गाह्रो छ’ नैनाकी आमाले चिन्ता व्यक्त गर्नुभयो । उमेर नपुग्दै गरेको बिहेको परिणाम आमाछोरीले नै भोग्नुपरेको छ । नैना र उहाँकी आमालाई अहिले बालविवाहले नै यो दुःख सहनुपरेको भन्नेमा पछुतो छ । 

(खुल्ला धरती, खुल्ला आकाशबाट) 
 

अन्तिम अपडेट: चैत १३, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया