नौ महिनादेखि बन्द म्याग्दीका होटल तथा धार्मिक क्षेत्र खुले (फोटो फिचर)

 पुस २, २०७७ बिहिबार २०:६:४९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – काेराेना भाइरस (कोभिड–१९) का कारण गएको  नौ महिनादेखि बन्द रहेका म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र खुलेका छन् । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमले बन्द भएका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल बुधबारदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको हो । 

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि खुलेका छन् । 

यसैगरी म्याग्दीको गलेश्वर शिवालय, पौलस्त्य पुलहाश्रम, जगन्नाथ धाम तथा अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।

सरकारले जारी गरेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी बन्द रहेका होटल, रेस्टुरेन्ट र धार्मिकस्थल खुला गरिएको छ । 

लामो समयसम्म होटल बन्द रहँदा व्यवसायमा पनि असर गरेकाले सुरक्षा सतर्कता अपनाएर सम्पूर्ण होटल खुला गरिएको घोडेपानीका होटल व्यवसायी बलराम पुनले जानकारी दिनुभयो ।

घोडेपानी टोल विकास समितिको निर्णयअनुसार होटेल व्यवसाय खुला भएको पर्यटन प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

घोडेपानीमा मात्रै साना–ठूला गरी ३५ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

म्याग्दी होटल तथा रेस्टुरेण्ट व्यवसायी सङ्घमा कुल दुई सय ३७ वटा होटल आबद्ध छन् । तीमध्ये २० वटा एसीसहितका होटल छन् भने पाँच सय ६४ वटा एट्याच होटल रहेकोमा सात सय ७५ वटा साधारण खालका होटल छन् ।

कुल तीन हजार एक सय १२ वटा बेड रहेका होटलमा एक रातमा चार हजार नौ सय ४९ जनाको क्षमता छ । म्याग्दीको होटल क्षेत्रमा झण्डै पाँच अर्ब रुपैयाँ लगानी भएको बताइन्छ ।    

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया