नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टीभी’ सेवा सुरु

 पुस १७, २०७७ शनिबार ५:३६:४१ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टीभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टीभीको सुरुवात गरेको हो ।

एनटी टीभी सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गर्नु भएकाे हाे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टीभी सञ्चालनमा ल्याएको हो । 

टेलिकमले ‘फाइबर टु दि होम’ एफटीटीएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो । टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । 

काठमाण्डौ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टीभी सेवा सञ्चालनमा आएको छ । काठमाण्डौ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपुर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्को लगायतका स्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टीभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गएके फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो।

टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गएको डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ । 

'फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ', कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो, 'टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टीभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।'

अहिलेसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टीभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउनुहुन्छ । 

टेलिकमले सञ्चालनमा ल्याएको यस सेवाले सहरी सौन्दर्यलाई पनि सघाउ पुर्याउनेछ । टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उहाँले बताउनुभयो । ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पुर्याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । 

उहाँले यो सेवालाई देशभर विस्तार गरिने पनि बताउनुभयो । 'डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न यो कोशेढुङ्गा सावित भएको छ”, उहाँले भन्नुभयो । ग्राहकको मागलाई ध्यान दिँदै टेलिकम एडिएसएलबाट फाइबर सेवामा गएको उल्लेख गर्दै उहाँले दूरसञ्चार क्षेत्रमा आएका नवीनतम प्रविधिलाई भित्र्याउन आफूहरु तयार रहेको बताउनुभयो । 

ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तराम सिंह प्रधानले टेलिकमले पाँच वर्षदेखि फाइबरमार्फत उच्च गुणस्तरको टेलिफोन र उच्चगतिको इन्टरनेट ग्राहकसमक्ष पुर्याउँदै आएको भए पनि इन्टरनेटमा आधारित टेलिभिजन पनि सुरु गरिएको बताउनुभयो ।

निजी क्षेत्रकोभन्दा सहुलियत मूल्य

कम्पनीले दुई प्याकेजमा टीभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टीभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टीभी प्याकेज) को एक हजार २३० देखि ३ हजार २२० मूल्य रुपैयाँ सम्म तोकेको छ । 

एक महिनाका लागि एक हजार २२०, तीन महिनाको तीन हजार ५३० र एक वर्षको १३ हजार २२० रुपैयाँ रहेको छ । यसैगरी इन्टरनेटबाहेक एनटी टीभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको ४८० मूल्य रुपैयाँ, तीन महिनाको र एक हजार ४५० र एक वर्षको पाँच हजार ७८० मूल्य रुपैयाँ तोकेको छ ।

प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य एक हजार चार सयदेखि र २४ हजार रुपैयाँसम्म तोकिएको छ । पन्ध्र एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको एक हजार चार सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको १५ हजार रुपैयाँ रहेको छ ।

तीस एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टीभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको एक हजार ७५० मूल्य रुपैयाँ, तीन महिनाको रु पाँच हजार र एक वर्षको अठार हजार एक सय, ४० एमबीपीएस प्याकेजको एक महिनाको दुई हजार ५०, तीन महिनाको छ हजार र एक वर्षको १९ हजार ७०० रुपैयाँ तोकिएको छ ।

उहाँका अनुसार ६० एमबीपीएस इन्टरनेटसहित एक प्याकेजको प्याकेज र दुई हजार ४५०, तीन महिनाको सात हजार २०० र एक वर्षको २४ हजार पाँच सय रुपैयाँ रहेको छ । टेलिकमले एनटी टीभी र टेलिफोन (निःशुल्क)को प्याकेजसमेत उपलब्ध गराएको छ । यस प्याकेजको एक महिनाको आठ सय, तीन महिनाको दुई हजार ३५० र एक वर्षको आठ हजार ३०० रुपैयाँ तोकेको छ । 

‘विश्वासिलो सेवा प्रवाह गर्न निर्देशन’

मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिनुभयो । उहाँले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि सुरुआत गर्न आग्रह गर्नुभयो ।

टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अगाडि लैजान मन्त्रालयले सक्दो सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सेवामा गुणात्मकताका साथै दीगो रुपमा सञ्चालन र २४ सै घण्टा सेवा दिनुपर्ने चुनौती रहेको औँल्याउँदै ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिनुुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • madan

    Jan. 2, 2021, 1:59 p.m.

    यता गाउतिर टावर कि त 2G कि त 3 G छ उता कराएर देशैभरि पुर्याउछु भन्दा चै अचम्म लाग्छ बरु भएजति सवै टावरमा 4G संचालनमा ल्यायर दुर्गमकाे जनतालाई पनि सुगम काे र देश विदेश संग जाेड्नु नि। बजार ८ कि मि टाडा छ तर ईन्टरनेट हाम्राेलागि अाकासकाे फल यस्ताे कहिलेसम्म संचारमत्रि ज्यु।

  •  0 Reply

तपाईको प्रतिक्रिया