ठेकेदारको लापर्बाहीले मेची राजमार्ग दुर्घटनाको उच्च जोखिममा परेको भन्दै स्थानीय आन्दोलित

 पुस २२, २०७७ बुधबार २०:२५:५४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – ठेकेदारको लापर्बाहीले मेची राजमार्ग दुर्घटनाको उच्च जोखिममा परेको भन्दै रोङ गाउँपालिकाका स्थानीय आन्दोलित भएका छन् । 

मेची राजमार्गअन्तर्गतको सडक खण्डमा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउँदा सडकमै निर्माण सामग्री थुपार्ने, सुस्त गतिमा काम गर्नेलगायतका कारणले दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश १ का जिल्लामा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउन लागेको रोङ गाउँपालिका ६ का वडाध्यक्ष तथा प्रवक्ता मनिकुमार सुवास स्याङ्बोले बताउनुभयो ।

अप्टिकल फाइबरको गुणस्तरीय काम नेपाली व्यवसायीले गर्न नसक्ने भन्दै प्राधिकरणले यो ठेक्का विदेशी कोरियन कम्पनीलाई दिएको छ । यस कामको ठेक्का कोरियन कम्पनी एलएस केबल सिस्टम प्रालीले पाएको छ । कम्पनीले कमिसनको चक्करमा आफैले काम नगरि फाइबर बिच्छ्याउने काम ठेक्कामा जिम्मा दिएको स्थानीयको आरोप छ ।  

अहिले रोङ गाउँपालिकाका वडा नम्बर ३ र ४ मा पर्ने जोरकशलदेखि कुट्टीडाँडासम्म अप्टिकल फाइबर बिच्छ्याउने काम भइरहेको छ । विरोधमा उत्रिएका स्थानीयले यस कार्यलाई गएको सोमबारदेखि काम गर्न बन्द गराएर आन्दोलन सुरु गरेको स्थानीयले बताएका छन् ।  

यस्ता लापर्बाही कामलाई तत्काल रोकेर वार्तामा आउन आग्रह गर्दै सङ्घर्ष समिति रोङ गाउँपालिका पहरी गाउँ इलामले ध्यानाकर्षण ज्ञापन पत्र सोमबार प्रशासनमा बुझाएको छ । संयोजक कुमार ढुङ्गेलको हस्ताक्षरमा समितिले जिल्ला प्रशासन इलामलाई ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष एगा अर्यालले बताउनुभयो । 

ज्ञापनपत्रमा पाँच बुँदे माग गरिएको छ । सरोकारवालासँग सम्बन्धित निकायले तत्काल वार्तामा आउनुपर्ने, अस्तव्यस्त भएको सडक पहिला जस्तै बनाउनुपर्ने, आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय काम गर्नुपर्ने, भत्किएको सडक संरचना बनाउनुपर्ने र मेची राजमार्गको पक्की नाला, कालोपत्रे भत्काएर फाइबर बिच्छ्याउन दिएको अनुमति सम्झौतापत्र सार्वजनिक गर्नुपर्ने जस्ता माग ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रको बेवास्ता गर्दै तत्काल सम्बन्धित निकायले समस्याको समाधानमा पहल नगरे आगामी आइतबार (पुस २६) गतेदेखि दैनिक एक घण्टा राजमार्ग बन्द गरी सशक्त आन्दोलनमा उत्रने समितिले जनाएको छ ।

गाउँपालिकाले पटक–पटक सम्बन्धित निकायलाई पत्राचार गरिसकेको प्रवत्ता स्याङ्बोले बताउनुभयो । यो समयसम्म पनि सम्बन्धित निकायले चासोको विषय नबनाएकाले निर्माण व्यवसायको अनियमितता र लापरबाहीप्रति स्थानीयले गरेको आन्दोलनलाई जनप्रतिनिधिले समर्थन गरेको उहाँले बताउनुभयो । 

सडकमै निर्माण सामाग्री थुपार्ने, सुस्त गतिमा काम गर्ने, गुणस्तरहीन काम भइरहेको पाइएकाले सार्वजनिक सडक ऐन २०३१ को दफा १८ र १९ मा व्यवस्था भएको कानुनको समेत पालना नभएको जनाइएको छ । 

गाउँपालिकाको भूमिमा फाइबर बिच्छ्याउँदा सम्बन्धित पक्षले पालिकासँग समन्वय र सहकार्य गर्नुपर्ने तर यो समेत नगरिएको पालिकाले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया