ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द

 पुस २३, २०७७ बिहिबार ११:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर अकाउन्ट बन्द गरिएको छ ।

फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको अकाउन्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको नीति विपरीत कार्य गरेकोे भन्दै ट्रम्पको अकाउन्ट बन्द गरेको जनाएका छन् । राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नीतिको उल्लङ्घन गरेको फेसबुकले जनाएको छ ।

अब राष्ट्रपति ट्रम्पले २४ घण्टा फेसबुकमा कुनै पनि पोष्ट गर्न पाउनुहुने छैन । ट्वीटरले पनि वासिङ्टन डीसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्वीट हटाउनु पर्ने देखिएको जनाएको छ ।

ट्वीटरले तीन ट्वीट नहटाए ट्रम्पको अकाउन्ट सधै‌ँका लागि लक हुने समेत चेतावनी दिएको छ । यसैबीच ट्रम्पका समर्थकले अमेरिकी संसदमै हिंसात्मक प्रदर्शन गरेको घटनाप्रति विश्वका विभिन्न नेताहरुले निन्दा गरेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनलेलगायतले निन्दा गर्नुभएको बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया