नवलपुर - पाेखरा सडक निर्माणको कामले गति लिएन

 पुस २४, २०७७ शुक्रबार १०:४३:७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी पूर्व (नवलपुर)लाई पोखरासँग जोड्ने सडकको काम सुस्त गतिमा हुँदा सर्वसाधारणले सास्ती भाेग्नु परेकाे छ।

नवलपरासीलाई प्रदेशसँग जोड्ने महत्त्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिन सकेको छैन् । आफ्नै प्रदेशको बाटो हुँदै पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती-बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो ।

कावासोतीको फलफूल चोक - बोझापोखरी - कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करिडोरमा जोडिने सडक डेढगाउँबाट तनहूँको भिभाद हुँदै खैरेनिटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पाेखरासँग सिधै जोड्ने छ । अहिले यहाँका बासिन्दा चितवन-मुग्लिङ हुँदै वा बुटवल- स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने  अवस्था छ ।

वर्षौंपछि सडक निर्माणको काम थालनी भएको तर, समयमा काम पूरा नहुँदा अहिले हिउँदको समयमा धुलो उडेर हैरान भएको कावासोतीकी पवित्रा सुनारले बताउनुभयो । कावासोती - बोझापोखरी र बोझापोखरी - कोखेटार गरेर सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ ।

पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्रे र त्यसपछिको ६ किलोमिटर  ग्राभेल यस्तै दोश्रो खण्डमा सबै २० किलोमिटर ग्राभेल गर्ने गरेर ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ  । तर, अहिलेसम्म पहिलो खण्डमा २० प्रतिशत र दोश्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।

पहिलो खण्डको कावासोती - फलफूलचोकदेखि गर्नुपर्ने १४ किलोमिटर कालोपत्रेको काम लामो समयसम्म हुन नसक्दा सडकमा बनेको खाल्डाखुल्डीले गाडी दुर्घटनाको जोखिम बढाएको   स्थानीय बताउँछन् । बजार क्षेत्र भएको हुँदा यहाँ आवतजावत गर्ने यात्रुको निकै चाप हुन्छ ।  धुलोका कारणले स्वास्थ्यमा समेत असर गरेको स्थानीय दिनेश श्रेष्ठले बताउनुभयो ।

वि.सं. २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती - कोखेटार सडक निर्माणको काम वि.सं. २०७७ जेठ मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने थियो । तर, यो अवधिमा निर्माणको काम नसकिएपछि यसै वर्षको चैत १३ गतेसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सागर पोखरेलले बताउनुभयो ।

पहिलो खण्डमा सन्तोसी- रौताहा - हरिहर जेभी र दोश्रो खण्डमा पप्पुकोशी- न्यौपाने - बन्धन भगवती जेभीले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले निर्माणको काम सुस्त गतिमा गर्दा  प्रगति राम्रो देखिएको छैन् । केही समय कोभिड-१९ ले समेत निर्माणको कामलाई प्रभाव पारेको इन्जिनियर पोखरेलले बताउनुभयो ।

यस्तै पहिले सडक डिभिजन कार्यालय बुटवलबाट निर्माणको काम भइरहेकाे भए पनि केही समय गण्डकी प्रदेश सरकारमार्फत काम गरिएको थियो । अहिले पुनः सडक डिभिजन कार्यालय बुटवलमार्फत काम सुरु भएको पोखरेलले बताउनुभयो । 

सडक निर्माणको अख्तियारीले समेत केही अलमल भएको उहाँले बताउनुभयो । अहिले निर्माणको कामले गति लिएको उहाँले बताउनु भएको छ । तर, पनि थपिएको अवधिमा समेत निर्माणको काम सम्पन्न हुन सक्ने अवस्था भने देखिएको छैन् । पहिलो खण्डको कालोपत्रे गर्ने क्षेत्रमा अझै नाला निर्माणको कामसमेत पूरा हुन सकेको छैन । दोश्रो खण्डमा सडक चौडा पार्ने काम, पहिरो रोकथामको कामलगायतका काम अझै बाँकी नै छ ।

दुवै खण्ड गरेर  कुल ८४ करोड  ९८ लाख ८ हजार २४१ रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया