ट्रम्प समर्थकले फेरि हिंसात्मक प्रदर्शन गर्नसक्ने एफबीआईको चेतावनी

 पुस २८, २०७७ मंगलबार ११:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसात्मक प्रदर्शनको तयारी गरेका सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ ।

एफबीआईले आउँदा दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रदर्शनको तयारी गरेका चेतावनी दिएको बीबीसीले जनाएको छ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आउँदो २० तारिखमा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि उनीहरुले तयारी थालेका खबरमा उल्लेख गरिएको छ । यसअघि गएको बुधबार राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । यो आक्रमणमा एक जना प्रहरी  अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

यो प्रदर्शनपछि दबाबमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सहजै सत्ता हस्तान्तरण गर्ने घोषणा गर्नु भएको थियो । हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता समेत भएको छ । तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताउनु भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया