तराईमा चिसोबाट क्षति हुन दिँदैनौँ

 माघ १, २०७७ बिहिबार १०:५६:४८ | जनार्दन गौतम
unn.prixa.net

काठमाण्डाै ‍- चिसो बढेसँगै तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धासहित दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई त झनै समस्या भएको छ । यतिबेला दैनिक मजदूरी गरेर खाने अति-विपन्न वर्गका परिवारहरु न्यानो कपडा र राहतको पर्खाइमा छन् । चिसो र शीतलहरले तराईका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षतिसमेत हुने गर्दछ । यो समयमा चिसोबाट जोगिन हामीले बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।

विपदबाट हुने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शनअनुसार सम्भावित जोखिम क्षेत्रमा उद्धार र राहतका कार्यक्रम ल्याएको छ । त्यही मार्गदर्शनअनुसार प्राधिकरणको निर्देशनमा अहिले स्थानीय प्रशासन र पालिकाहरुले काम गरिरहेका छन् ।

शीतलहरबाट अति प्रभावित हुने ११ जिल्ला र कम प्रभावित हुने १० जिल्लाका लागि अति-विपन्न, विपन्न र आफ्नो क्षमता नभएका वर्गलाई न्यानो कपडा र दाउराको प्रबन्ध गर्नका लागि म्यान्डेट प्रदान गरिसकिएको छ । अति प्रभावित जिल्लालाई १५ लाख र कम प्रभावित जिल्लाहरुलाई १० लाखसम्म केन्द्रीय विपद् व्यवस्थापनको कोषबाट उपलब्ध गराइनेछ । प्रदेश २ का आठसहित ११ जिल्ला अति प्रभावितमा पर्दछन् भने १० जिल्ला कम प्रभावितमा पर्छन् ।  

जनचेतनामूलक सन्देश प्रवाह गर्ने, चिसोबाट जोगिने अन्य उपायहरु अवलम्बन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र प्रादेशिक सरकारलाई पनि निर्देश गरिएको छ । र त्यहीअनुसार स्थानीय पालिकाहरु र समितिहरुले त्यसको व्यवस्थापन गर्ने कार्यमा जुटिरहेका छन् । 

केही दिनदेखि तराईका जिल्लामा चिसो बढेको जानकारी आएकाले त्यस क्षेत्रमा हुने जोखिम न्यूनीकरण तथा राहत र उद्धारका काम गर्न पहिले नै निर्देशन दिइसकेको छ । त्यहीअनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा काम भइरहेको छ ।

हामीले अति विपन्न, विपन्न र न्यानो कपडाको व्यवस्था आफूले गर्न नसक्नेहरुका लागि राहत दिने र अरु सक्षम किसिमको वर्गलाई जनचेतनामार्फत सजग र सतर्क गराउँदै आएका छौँ । यो वर्ष पनि विपन्न वर्गलाई लक्षित गरेर राहतका कार्यक्रम अघि बढाएका छौँ । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र नजिकको प्रहरीमा सम्पर्क गरेमा आवश्यकताका आधारमा न्यानो कपडा र राहतको व्यवस्था गर्न निर्देश गरिसकेका छौँ। 

यति गर्दागर्दै पनि कुनै मानिसको शीतलहरबाट मृत्यु भएको प्रमाणित भएको अवस्थामा अन्य प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको नजिकको हकदारले पाए सरहको राहत जिल्ला विपद् व्यवस्थापन समितिले पनि व्यवस्था गर्छ । स्थानीय विपद् व्यवस्थापन समितिले पनि आफ्नो मापदण्डअनुसार गर्नेछ ।

चिसोकै कारणले बिरामी परेकाहरुको उपचारको प्रबन्ध गर्ने, खेतीमा क्षति पुगेमा राहत प्रदान गर्नेलगायतका कामहरु कार्यकारी समितिको बैठकबाट निर्णय गरी त्यहीअनुसार काम गर्न निर्देश गरेका छौँ र पालिका र जिल्ला विपद् व्यवस्थापनसँगको समन्वयमा काम भइरहेको जानकारी हामीलाई प्राप्त भएको छ । 

न्यानो कपडाको व्यवस्था नै गर्न नसक्ने अवस्थाको वर्ग छ भने स्थानीय विपद् व्यवस्थापन समितिले पनि गर्नुपर्ने हुन्छ । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाबाट पहल नभएको अवस्थामा टोल फ्रि नम्बर ११५० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिन्छ । सम्बन्धित व्यक्ति आफूले पनि तत्परता देखाउनुपर्ने हुन्छ । 

विगतका वर्षहरुमा शीतलहरका कारण मानवीय र भौतिक क्षति हुँदै आएको छ । तर अघिल्लो वर्ष सरकारको पूर्वतयारी, जनचेतना जागृत गरेका कारणले शीतलहरबाट एक जनाको पनि मृत्यु भएन । यो वर्ष पनि कुनै मानवीय तथा भौतिक क्षति हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरिरहेका छौँ । 

विशेषगरी चिसोको समयमा न्यानो कपडा लगाउन, घर बाहिर सकेसम्म ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन, तातो र पौष्टिकयुक्त खानेकुरा खान, आगो बाल्दा सावधानी अपनाउन अपील छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जनार्दन गौतम

जनार्दन गौतम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया