ताप्लेजुङकाे सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने

 माघ १, २०७७ बिहिबार २०:३८:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् । 

सिरिजङ्घा गाउँपालिकाका पाँच वटा विद्यालयमा कक्षा ११ र १२ को पढाइ भइरहेको छ । ती विद्यालयमा पढ्ने झण्डै सात सय विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका हुन् ।  
गाउँपालिकाले ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पारित गरेर कार्यान्वयन गराएको हो । 

संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय पालिकाको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्देश्यले यस व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । भर्ना शुल्क, रजिस्ट्रेशन र परीक्षा दस्तुरबापत वार्षिक एक हजार पाँच सय र मासिक शुल्क चार सय गरि ६ हजार ३ सय रुपैयाँ सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउने बताइएको छ । 

यस गाउँपालिकाका हरेक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई भने बर्सेनि पोसाक र झोला निःशुल्क उपलब्ध गराइँदै आएको छ । गाउँपालिकाभित्र अहिले कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार ६ सय नौ रहेको छ । पोसाक, विद्यालय लैजाने झोला र जुत्ताका लागि एक विद्यार्थीका लागि वार्षिक दुई हजार पाँच सय रुपैयाँ खर्च हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । साथै कक्षा १० का सबै विद्यार्थीलाई आवश्यक विषयमा तयारी कक्षासमेत दिइने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो ।

प्राविधिक विषय पढ्ने गाउँपालिकाभित्रका आठ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइँदै आएको प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । एक विद्यार्थीले पढिसक्दा झण्डै पाँच लाख रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । 

गाउँपालिकाले ११ र १२ मा निःशुल्क शिक्षा दिने अभियानसँगै अभिभावक तथा विद्यार्थी उत्साहित भएका सिनाम माविका शिक्षक तुलसी पोख्रेलले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया