कोरोनाबाट एक पटक सङ्क्रमित भएको व्यक्ति ५ महिनासम्म फेरि सङ्क्रमित नहुने

 माघ २, २०७७ शुक्रबार ७:२१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।

सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्ग्ल्यान्डको एक अध्ययनले देखाएको छ। तर विज्ञहरूका अनुसार कोरोना भाइरसको सङ्क्रमण दोहाेर्याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने रहेको बीबीसीको खबरमा  छ ।

बेलायतका झन्डै २१ हजार स्वास्थ्यकर्मीकाे नियमित परीक्षणको नतिजामा यो अध्ययन गरिएको थियो । तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३ सय १८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो । वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्ने छन् । 

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिएभन्दा लामो समय बच्न सक्ने बताउनुभयो । तर दोहोर्याएर हुनै नसक्ने भन्ने नभएकोले सुरक्षाका उपायहरू अपनाउन पर्ने हप्किन्सको भनाइ छ ।

पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको हप्किन्सले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया