भारत–नेपाल पेट्रोलियम पाइप लाइनबाटै डिजल चोरी !

 माघ २, २०७७ शुक्रबार १५:२१:३५ | एजेन्सी

काठमाण्डाै : पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।

नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको नवभारत टाइम्स खबरमा दाबी गरिएको छ ।

तस्बिर : नवभारत टाइम्स

पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए । मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ ।

सानो पाइपबाट दैनिक सयौँ लिटर डिजल चोरी भएको हुन सक्ने भारतीय आयल कर्पोरेशन (आईओसी) का अधिकारीहरूले आशङ्का गरेका छन् । पाइपबाट हरेक दिन हजारौँ लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ ।

झण्डै चार फीट तलको फाइप लाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो । चोरहरूले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै लकिङ सुविधा जडान गरेको पाइएको छ ।

गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया