ताप्लेजुङ : तङ्ग्रिँदै पर्यटकीय क्षेत्र ( फाेटाे फिचर)

 माघ ३, २०७७ शनिबार १२:४६:४१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - कोरोना महामारीका कारण १० महिनादेखि थला परेको पर्यटकीय क्षेत्र बिस्तारै तङ्ग्रिँदै गएको छ ।

विदेशी पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटकहरुकाे चहलपहल बढ्न थालेको हाे । ताप्लेजुङका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु घुम्न थालेका छन् ।  धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको विकासका कामले पनि बिस्तारै गति लिन थालेकाे छ। 

कञ्चनजङ्घाको बेस क्याम्पमा समेत आन्तरिक पर्यटक जान थालेका छन् । स्थानीय सरकार तथा कञ्चजनजङ्घा संरक्षण क्षेत्रले पर्यटकीय क्षेत्र कञ्चनजङ्घा बेसक्याम्पसम्म पुग्ने बाटो राम्रो नबनाएको आरोप स्थानीय पर्यटकहरुले लगाएका छन् । बेसक्याम्पमा पुगेका सुरेश लिम्बुले बाटो अत्यन्तै अप्ठ्यारो र विकट भएको बताउनुभयो ।  

यसवर्ष जिल्लामा पर्यटकीय क्षेत्रको विकास कार्यक्रमअन्तर्गत स‍‌ंस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट पर्यटन प्रवर्द्धनसम्बन्धी ८१ वटा योजना रहेका छन्  । पर्यटकीय क्षेत्रको व्यवस्थापनदेखि मठमन्दिर संरक्षणसम्मका योजना रहेका छन् । 

जिल्लाभरि ९ वटा पालिकामा पर्यटन सम्बन्धित कार्यक्रम रहेका छन् । विभिन्न उद्यानहरु निर्माण तथा भ्यूटावरहरुको निर्माण कार्य भइरहेका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको सुन्दर फुङ्फुङ्गे झरनाको गुरुयोजना तयार गरेर काम सुरु गरिएकाे छ । पालिका यस याेजनाकाे लागि ५० लाख रुपैयाँ विनियाेजन गरेकाे छ । 

जिल्लामा रहेको धार्मिक स्थल पाथीभराको बाटोलाई कालोपत्रे गर्नका लागि केन्द्र सरकारबाट बजेट आएको छ । पर्यटकीय गतिविधि बढाउने र युवा जनशक्तिलाई आर्थिक क्रियाकलापमा समेट्ने योजनाअन्तर्गत विभिन्न योजनाहरु आएका छन् ।

ताप्लेजुङमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरु आउन सुरु गरेका छन् । पाथीभरा तथा फुङफुङ्गे झरनामा आन्तरिक पर्यटकहरु आउन थालेको छन् । पर्यटकीय गतिविधि बन्द भएसँगै बन्द भएको होटल व्यवसाय पनि सुरु हुन थालेकाे जिल्ला होटल व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष दिनेश खवासले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया