संविधानकै हत्या भएको अवस्थामा हाँस्न सक्दैनाैँ : प्रचण्ड

 माघ ४, २०७७ आइतबार १५:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको निर्णयले संविधानकै नै हत्या हुने काम भएको अवस्थामा आफू हाँस्न नसक्ने प्रतिक्रिया दिनुभएको छ ।

शनिबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले संविधानकै हत्या भएको समयमा हाँस्न र हँसाउन नसकिने बताउनुभएको हो । शनिबार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आम नागरिकको मुहारमा मुस्कान ल्याउन आफूले हसाउँदै हिँडेको भन्दै अब आफू नागरिकलाई रुवाउने पक्षमा नरहेको बताउनुभएको थियो ।

आइतबार काठमाण्डाैमा भएको राष्ट्रिय युवा सङ्घको बैठकमा अध्यक्ष प्रचण्डले देश तनावमा रहेको र संविधानको चिन्ता भइरहेको समयमा हाँस्न नसकिने बताउनुभएको हो ।

प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री पार्टीले बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले युवाहरूको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै दुनियाँले देख्ने गरि आन्दोलनलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।

लामो समयकाे सङ्घर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै उहाँले सिङ्गो देश नै स्तब्ध भएको बताउनुभयो । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया