राजस्व दाखिला गर्नुपर्ने रकम एसपीको खल्तीमा !

 माघ ४, २०७७ आइतबार १९:५०:५० | किरण लोहनी
unn.prixa.net

तस्बिर : एसपी गुरुङ

गोरखा – गोरखाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले राजस्व दाखिला गर्नुपर्ने रकम आफैसँग राखेको पाइएको छ । जुवाखालबाट बरामद गरिएको झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नभएको पाइएको हो । 

दशैँ तिहारको बीचमा गाेरखाका विभिन्न प्रहरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले बरामद गरि पठाएको झण्डै ५० हजार र इलाका प्रहरी कार्यालय जाैबारीले बरामद गरेको झण्डै ७० हजार रुपैयाँ राजस्वमा जम्मा नभएको हो । 

‘हामीले दशैँ तिहारको बीचमा चेतावनी स्वरूप जुवाविरुद्धको अपरेशन चलाएका थियौँ, कतै तीन हजार कतै पाँच हजार रुपैयाँ बरामद भएको थियो’, एक इलाका प्रहरी कार्यालयका प्रमुखले भने, ‘बरामद भएको रकम नियमअनुसार जिल्ला प्रहरी कार्यालयमा पठायौँ, अरू कुरा हामीलाई थाहा पनि हुँदैन, चासो राख्ने कुरा पनि आएन ।’

दुई इलाका प्रहरी कार्यालयले मङ्सिरमा पठाएको झण्डै एक लाख २० हजार रुपैयाँ तीन महिनासम्म पनि राजस्वमा जम्मा नगरिएको पाइएको हो । मातहतका प्रहरी इकाइसहित जिल्ला प्रहरी कार्यालय गोरखाले पनि जुवाविरुद्ध अपरेशन चलाएको बताएको थियो । तर चाडबाड आसपासको समय अर्थात् गएकाे असोज १ गतेदेखि मङ्सिर मसान्तको बीचमा जम्मा तीन वटा घटनाको मात्रै मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखा नगरपालिका ४ फिनाम, सिरानचोक गाउँपालिका ७ र गण्डकी गाउँपालिका ४ मा जुवाखालबाट पक्राउ परेकाविरुद्ध मात्रै मुद्दा चलाइएको छ । ती जुवाखालबाट बरामद भएको रकम पनि प्रशासनमा बुझाइएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआइजीई घनश्याम अर्यालले पनि जुवाखालबाट बरामद भएको रकम राजस्व खातामा दाखिला नहुनुलाई कार्यालय प्रमुखको बदनियतको रूपमा बुझ्नुपर्ने बताउनुभयो । ‘साना–ठूला जस्तोसुकै जुवाखालबाट बरामद भएको पैसासहित जुवाडेलाई मुद्दा चलाउनुपर्छ, मुद्दा नचलेको अवस्थामा बरामद भएको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्छ’, डीआईजी अर्यालले भन्नुभयो, ‘बदनियत राखेर खाएको हो भने खानेलाई कारबाही गर्छाैँ ।’ 

एसपी सुरेन्द्रबहादुर गुरुङले पनि केही रकम राजस्व दाखिला गर्न बाँकी रहेको बताउनुभयो । केही रकम भने मानव सेवा आश्रमलगायत परोपकारी संस्थालाई सहयोग उपलब्ध गराइएको उहाँको दाबी छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • pitmbar kc

    Jan. 18, 2021, 12:35 a.m.

    It is an example. Everywhere happens this type of activities from senior police officers.

  •  0 Reply

तपाईको प्रतिक्रिया