यस वर्ष पनि सरकारले दिएको समयमा उखु किसानले पूरै भुक्तानी पाएनन्

 माघ ५, २०७७ सोमबार १९:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

राधा ढुङ्गाना 

काठमाण्डाै – यस वर्ष पनि सरकारले तोकेको समयभित्र उखु किसानले पूरै भुक्तानी पाएका छैनन् । अघिल्लो वर्ष आन्दोलनपछि सरकारसँग भएको सहमतिअनुसार भुक्तानी नपाएका किसान यस वर्ष पनि काठमाण्डौ आएर दुई हप्तासम्म धर्ना दिएका थिए ।

किसानको धर्नापछि गएकाे पुस १३ गते सरकारले २१ दिनभित्र भुक्तानी गराउने सहमति त गर्‍याे तर समय सीमाभित्र किसानले पूरै भुक्तानी पाउन सकेनन् । २१ दिने समय सीमा सकिएको दिन साेमबार (आज) सम्म चिनी उद्योगले उखु किसानको ५१ करोड ३८ लाख बक्यौता भुक्तानी दिएकाे गृह मन्त्रालयले जनाएको छ । ​किसानले पाउनुपर्ने ७० करोड ५७ लाख बक्यौतामध्ये ५१ करोड ३८ लाख रुपैयाँमात्र भुक्तानी भएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । यो किसानले पाउनुपर्ने रकमको ७२ प्रतिशत हो । 

लुम्बिनी चीनी उद्योग प्रालीले आठ करोड ४१ लाख बक्यौता भुक्तानी गर्नुपर्नेमा साेमबारसम्म चार करोड १६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । यस्तै १७ करोड दिनुपर्ने अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख भुक्तानी गरेको छ । ४० करोड ४६ लाख बक्यौता रहेको श्रीराम सुगर मिलले ३५ करोड ७५ लाख भुक्तानी गरेको छ । चार करोड ७० लाख रुपैयाँ भुक्तानी दिनुपर्ने इन्दिरा सुगर मिलले अहिलेसम्म भुक्तानी नदिएको गृह मन्त्रालयका सूचना अधिकारी लामिछानेले बताउनुभयो ।  

उखु किसानले भने आफूहरूको ९० करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको बताउँदै आएका छन् । सबैजसो किसानको खातामा रकम पुगेको भए पनि भुक्तानी पूरै नभएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । भुक्तानी दिएकाहरूकाे पनि नाम र विवरण स्पष्ट नखुलेको उहाँले बताउनुभयो ।

सरकारले पूरै बक्यौता भुक्तानी गराउने सहमति गरे पनि त्यो पूरा नभएपछि अब के गर्ने भनेर मङ्गलबार (भोलि) उखु किसानहरूको बैठक बस्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया