शान्ति, स्थिरता र विकासका लागि तोकिएको मितिमा चुनाव जरुरी छ : राष्ट्रपति भण्डारी

 माघ ५, २०७७ सोमबार २०:२४:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा साेमवार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ बुझ्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य चुनाव गराउन जरुरी भएको बताउनुुभएको हो । 

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै चुनावकाे माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताउनुभयो । चुनावमा बढीभन्दा बढी मतदाता सहभागी गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उहाँले सुझाव दिनुभयो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ । 

राष्ट्रपति समक्ष आयोगले पेस गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा छलफलका लागि पेस गर्ने संवैधानिक व्यवस्था छ । आयोगललाई राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिकाका सदस्यको चुनाव गराउने संवैधानिक जिम्मेवारी छ ।

प्रतिवेदनमा मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानुन तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समावेश छ ।

प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले चुनावसम्बन्धी नीति एवं कानुनको तर्जुमा, राजनीतिक दल दर्ता र त्यसकाे व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्थालगायत विषयमा जानकारी गराउनुुभएको थियो । उहाँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ का सन्दर्भमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम आयोगबाट स्वीकृत भइ राजनीतिक दलहरूसँग परामर्श बैठक तथा जिल्ला निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि आवश्यक तालिम सम्पन्न भएको  व्यहोरा जानकारी गराउनुभएको प्रवक्ता राजकुुमार श्रेष्ठले बताउनुुभयो ।

निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, बजेट तथा जनशक्ति प्रक्षेपण, मतदाता शिक्षा सामग्री तयारी, तालिम सामग्री तयारी, प्रदेश र पालिकाका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका सम्पूर्ण कार्य योजनाबद्ध रूपमा अगाडि बढिरहेको पनि प्रमुख निर्वाचन आयुुक्त थपलियाले जानकारी गराउनुुभएको थियो ।

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल तथा आयोगका सचिवलगायत सहभागिता थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया