सर्टिफिकेट धितोमा जम्मा ८५ जनालाई सहुलियत ऋण, युवा स्वरोजगारतर्फ शून्य

 माघ ६, २०७७ मंगलबार ७:५५:५० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - देशमै उद्यमशीलता बढाउन र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न भन्दै सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा उल्लेख भएको यो कार्यक्रममा लाई २०७५ सालको मौद्रिक नीतिमा समावेश गरियो र नेपाल राष्ट्र बैंकले त्यसै वर्षको कात्तिकमा कार्यविधि जारी गरेको थियो । संशोधन हुँदै गएको कार्यविधि अनुसार सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । 

यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरु शुल्क लिन नपाउने व्यवस्था छ । 

सुरुको वर्ष र दोस्रो वर्षमा सहुलियतपूर्ण कर्जा कार्यक्रम खासै प्रभावकारी नभए पनि अहिले भने प्रभावकारी भइरहेको छ । समग्रमा अहिलेसम्म ५२ हजार ४८ जनाले सहुलियत ब्याजको कर्जा लिएका छन् । यस्तो कर्जामा ८६ अर्ब २९ लाख रुपैयाँ विभिन्न बैंकले लगानी गरिसकेका नेपाल राष्ट्र बैंकले जनाएको छ । 

कुन योजनामा कतिले लिए कर्जा ?

नेपाल राष्ट्र बैंकको सहुलियत कर्जाको लागि ब्याज अनुदान एकीकृत कार्यविधिअनुसार व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा अन्तर्गत पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ ।

शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा परियोजना कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमी कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाँच लाख रुपैयाँसम्म, भूकम्प पीडितको लागि आवास कर्जा तीन लाख रुपैयाँसम्म, कपडा उद्योग सञ्चालनको लागि पाँच करोड रुपैयाँसम्म, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म र युवा वर्ग स्वरोजगार कर्जा पाँच लाख रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ ।

व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा

व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा अन्तर्गत २०७५ सालको असारसम्म १७ हजार  २ सय ३ जनाले कर्जा लिएका छन् ।

२०७६ सालको असारसम्म २४ हजार ७ सय ६३ जनाले कर्जा लिएकोमा मंसिर महिनासम्म ३० हजार ८ सय ७ जनाले यो कर्जा प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै ६ हजार ४४ जनाले व्यावसायिक कृषि उपज तथा पशुपंक्षी कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म ६८ अर्ब ६९ करोड रुपैयाँ लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ । 

शिक्षित युवा स्वरोजगार कर्जा 

यो कर्जा अन्तर्गत शिक्षित युवाहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर उद्यम गर्नको लागि सात लाख रुपैयाँसम्म कर्जा पाउन सक्छन् ।

स्नातक तह उत्तीर्ण गरेर ४० वर्ष ननाघेका युवाले यो कर्जा पाउँछन् । २०७६ सालको असारसम्म २४ जनाले यो कर्जा प्राप्त गरेकोमा २०७७ सालको असारमा ६५ जना पुगेका थिए । मङ्सिरसम्म ८५ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिएका छन् । अहिलेसम्म ४ करोड ५० लाख रुपैयाँ यो कर्जामा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । 

विदेशबाट फर्किएका युवा परियोजना कर्जा 

विदेशमा सिकेको सिप नेपालमा उपयोग गरेर उद्यमी गर्न चाहनेले दश लाख रुपैयाँसम्म कर्जा पाउँछन्।

एकपटक विदेश गएका युवा फेरि विदेश जानु नपरोस् भनेर सरकारले विदेशबाट फर्किएका युवालाई लक्षित गरेर यो कार्यक्रम ल्याएको थियो । २०७६ सालको असारसम्म ४९ जनाले यस्तो कर्जा लिएकोमा २०७७ सालको असारमा २ सय २१ जनाले कर्जा लिएका छन् ।

अहिलेको मंसिरसम्म ४ सय ६० जनाले यस्तो कर्जा लिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा २ सय ३९ जनाले विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म  ३३ करोड ८० लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ । 

महिला उद्यमी कर्जा 

१८ वर्ष पूरा भएका कम्तीमा पाँच जना महिलाले समूह बनाएर व्यावसायिक आवेदन दिएमा महिला उद्यमी कर्जा पाउँछन् । उनीहरुलाई १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने कार्यविधिमा उल्लेख छ । सुरुको वर्ष ७ सय ९६ जनाले महिला उद्यम कर्जा लिएकोमा २०७७ सालको असारसम्म ६ हजार ६ सय ८२ जनाले यो कर्जा लिएका छन् ।

मङ्सिरसम्म यो बढेर १९ हजार ६ सय ३५ मा पुगेको छ । पहिलो पाँच महिनामा मात्रै १२ हजार ९ सय ९३ जना महिला समूहले यस्तो कर्जा लिएका छन् । यो शीर्षकको कर्जामा अहिलेसम्म १५ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको छ। 

दलित समुदाय व्यवसाय विकास कर्जा

दलित समुदायले गरिरहेका परम्परागत पेसालाई आधुनिक बनाउने र उनीहरुलाई व्यावसायिक बनाउनको लागि यो कर्जाको सुरु भएको हो ।

यसमा १८ वर्ष उमेर पुगेका दलित समुदायका पाँच जना मिलेर आवेदन दिएमा १० लाख रुपैयाँसम्म कर्जा पाइन्छ । २०७६ सालको असारसम्म ७० जनाले यस्तो कर्जा लिएकोमा २०७७ सालको असारमा ३ सय ५१ जना पुगेका छन्। मंसिरसम्म दलित समुदाय व्यवसाय विकास कर्जा लिनेको संख्या ५ सय ६६ पुगेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै २ सय १५ जनाले कर्जा लिएका छन् । दलित समुदाय कर्जामा अहिलेसम्म ३२ करोड २० लाख रुपैयाँ कर्जा लगाएको छ । 

उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा 

माध्यमिक शिक्षा पूरा गरेर २५ वर्ष ननाघेका व्यक्तिले उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउनेछन् । यस्तो पाँच लाख रुपैयाँ पाइने यस्तो कर्जा उनीहरुले उच्च शिक्षाको लागि खर्च गर्नुपर्छ । २०७६ सालको असारसम्म ६० जनाले यस्तो कर्जा लिएकामा २०७७ सालको असारसम्म ८४ जना पुगेका छन् । मंसिरसम्म ८७ जनाले उच्च शिक्षा कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म २ करोड ६९ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।  

भूकम्प पीडितको लागि आवास कर्जा 

भूकम्प पीडितको निजी आवासको लागि कर्जा दिन सरकारले यो कार्यक्रम सहुलियत ब्याज अनुदानमा समावेश गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता भइसकेका लाभग्राहीले घर निर्माणको लागि रकम अपुग भएमा यो कर्जा लिन सक्छन् । २०७६ सालको असारसम्म ९३ जनाले कर्जा लिएकोमा २०७७ सालको असारसम्म २ सय २१ जना पुगेका छन् ।

मंसिरसम्म २ सय ३६ जनाले आवास निर्माण कर्जा लिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै १ सय १५ जनाले कर्जा लिएका छन् । भूकम्प पीडितको लागि आवास कर्जामा अहिलेसम्म ५ करोड ६२ लाख रुपैयाँ लगानी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

कपडा उद्योग सञ्चालनको लागि कर्जा

पुन:सञ्चालनमा आउन सक्ने खालका कपडा उद्योगको लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा ऋण दिने कार्यविधि बनाएको हो ।

यस अन्तर्गत पाँच करोड रुपैयाँसम्म कर्जा पाइन्छ । कपडा उद्योगको लागि सहुलियत कर्जा कार्यक्रम २०७५ सालको कार्यविधिमा समावेश नभएको यो कार्यक्रम २०७६ सालदेखि सुरु भएको हो । गएकाे असारमा ६१ वटा कर्जा प्रवाह भएकोमा मंसिरसम्म १ सय ७१ वटा कर्जा प्रवाह भएका छन् । अहिलेसम्म कपडा उद्योग कर्जामा ९२ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्म कर्जा पाउन सकिने कार्यविधि रहेको छ । यसमा अहिलेसम्म एकजनाले मात्रै कर्जा लिएका छन् । यो कर्जामा अहिलेसम्म २ लाख रुपैयाँ लगानी भएको छ । 

युवा वर्ग स्वरोजगार कर्जा 

माध्यमिक शिक्षा पूरा गरेर सरकारी सम्बन्धनप्राप्त संस्थाबाट ७ दिनको प्राविधिक तथा व्यावसायिक तालिम लिएका व्यक्तिले यो कर्जा पाउँछन् । पाँच लाख रुपैयाँसम्म प्राप्त गर्न सकिने यो कर्जामा सहभागी हुन उद्यम सञ्चालन तथा कर्जा उपयोगको प्रस्ताव पेस गर्नुपर्छ । अहिलेसम्म एकजनाले पनि यो कर्जा लिएका छैनन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया