यसपालि हिउँदे वर्षासँगै हिमपात पनि कम, बालीको उत्पादकत्त्व घट्न सक्ने

 माघ ६, २०७७ मंगलबार ९:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी पार्ने मौसमी प्रणालीको कमीका कारण यसपालिको हिउँदमा वर्षासँगै हिउँ पनि कम परेको छ ।

हरेक वर्षको हिउँदयाममा पश्चिमी वायुको प्रभावका कारण नेपालमा पानी पर्ने र हिमपात हुने गरेको थियो । तर यसपालि पश्चिमी वायुको प्रवेश भए पनि शक्तिशाली नहुँदा फाट्टफुट्ट मात्रै वर्षा भएको छ । पानी पर्ने गरी जलवाष्पयुक्त हावा प्रवेश नगर्दा राम्ररी हिमपात समेत हुन पाएको छैन ।

केही दिनअघि हिमाली र केही उच्च पहाडी जिल्लामा हिमपात भए पनि त्यो पर्याप्त नभएको मौसमविद् मिनकुमार अर्याल बताउनुहुन्छ । उहाँकाअनुसार गएका वर्ष हिउँदको यही अवधिसँग तुलना गर्न यसपालि खासै पानी नै नपरेको अवस्था छ ।

पश्चिमी वायुकै प्रभावका कारण केही समयअघि पश्चिमी केही ठाउँमा हल्का पानी परे पनि त्यो पनि औसतभन्दा कम नै भएको मौसमविद् अर्यालले बताउनुभयो । हिमपात र वर्षा नहुँदा सुख्खा बढेको छ । यसले वायु प्रदूषणसँगै कृषि बालीमा समेत नोक्सानी पुग्ने अनुमान गरिएको छ ।

पानी नपर्दासम्म प्रदूषण झनै बढ्ने मौसमविद्ले बताउँदै आएका छन् । यस्तै, यो महिनाको मध्यसम्ममा पनि पानी नपरे हिउँदे बालीको उत्पादकत्त्वमा असर पर्ने कृषि विज्ञ बताउँछन् । माटोमा सुख्खापन बढिसकेकाले अब पानी अनिवार्य भएको कृषिविज्ञ ध्रुवबहादुर थापाले बताउनुभयो । नेपालका धेरैजसो ठाउँमा सिँचाइको पहुँच नभएकाले किसानहरुले आकासे पानीकै भरमा बाली लगाउँदै आएका छन् ।

अहिले वर्षा नपरे हिउँदे तरकारीसँगै गहुँ, आलु तोरी र दलहन बालीको उत्पादन घट्ने कृषिविज्ञ थापाको भनाइ छ । यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकालगायतका क्षेत्रमा लागेको कुहिरो बिस्तारै खुल्दै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

यस्तै, तराईका जिल्लामा लागेको हुस्सु कुहिरो पनि दिउँसो १२ बजेपछि खुल्दै जाने पूर्वानुमान गरिएको छ । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् अर्यालले बताउनुभयो । उहाँकाअनुसार यी क्षेत्रमा राति फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया