नेपालमा जलपक्षीको सङ्ख्यामा कमी, बेलैमा संरक्षणका कदम चाल्न विज्ञको सुझाव

 माघ ६, २०७७ मंगलबार १८:६:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपालमा जलपक्षीको सङ्ख्या कमी हुँदै गएको देखिएको छ । गएको पुस १८ देखि माघ ५ गतेसम्म गरिएको जलपक्षी गणनाको प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्ष जलपक्षीको सङ्ख्या घटेको हो ।

कोशी नदी, जगदीशपुर रामसार क्षेत्र, चितवन, कर्णाली नदी र बढैया ताल क्षेत्रमा जल पक्षीको सङ्ख्या घटेको हो । सिमसार क्षेत्र घट्दै जानु, कृषिमा रासायनिक मलको प्रयोग बढ्नु, अवैध चरा सिकार, मौसम परिवर्तनजस्ता कारणले जलपक्षीको संरक्षणमा चुनौती थपिएको संरक्षणविद्हरूको भनाइ छ । सिमसार क्षेत्रका सूचकका रूपमा हेरिने जलपक्षीहरूका प्रजाति र सङ्ख्या घट्नु चिन्ताको विषय भन्दै बेलैमा संरक्षणका कदम चाल्नुपर्नेमा विज्ञहरूले सुझाव पनि दिएका छन् ।

सन् २०२१ को गणनामा कोशी नदीमा ६२ प्रजातिका १९ हजार पाँच सय ४४ जलपक्षीको रेकर्ड भएको छ । कोशी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार कोशीमा सन् २०१९ मा ५८ प्रजातिका २१ हजार सात सय ४४ र २०२० मा ६१ प्रजातिका १६ हजार १२ जलपक्षीको रेकर्ड गरिएको थियो ।

यसैगरी जगदीशपुर रामसार क्षेत्रमा पनि गएकाे वर्ष १५ हजार चार सय ९६ को सङ्ख्यामा रेकर्ड भएका पानी चरा यस वर्ष १२ हजार चार सय ७६ मात्र गणना भएको नेपाल पक्षी संरक्षण सङ्घका जीव विज्ञ देउबहादुर रानाले बताउनुभयो ।

चितवनमा पनि यस वर्ष जल चराको प्रजाति सङ्ख्यामा कम देखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताउनुभयो । कर्णाली नदी र बढैया ताल क्षेत्रमा पनि चराको सङ्ख्यामा विगतभन्दा कम देखिएको बर्दिया नेचर क्लबका अध्यक्ष राम शाहीले बताउनुभयो ।

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइसराइ हुने यो समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अद्यावधिक गर्न जलपक्षीको गणना गरिएको थियो । देशभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गणना गरिएको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिनुभयो ।

नेपालमा आठ सय ८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये एक सय ५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया