उखु किसानलाई आठ करोड भुक्तानी बाँकी

 माघ ७, २०७७ बुधबार ६:२७:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख रुपैयाँ बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सरकार र उखु किसानबीच गएकाे पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । 

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ३५ करोड रुपैयाँ बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार १७ करोड रुपैयाँ बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख रुपैयाँ बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी बाँकी रहेको छ । 

यसैगरी चार करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख रुपैयाँ बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको तीन करोड रुपैयाँ रकम रोक्का राखिएको छ । 

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया