‘नेपालमै व्यवसाय गर्न चाहन्छु, तर मलाई सरकारको सहयोग चाहिन्छ’

 माघ ७, २०७७ बुधबार ११:५२:३२ | सुजता सुनुवार

इलाम – नेपालमा बुवाआमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवाआमाको नेपालमा छुट्टी मिल्यो ।

यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आउनुभयो । परिवारसँग घुम्ने ठाउँको योजना बनाउनुभयो । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । उहाँको घुम्ने मात्र होइन, फेरि यूएई फर्कने सपनासमेत अधुरो भयो ।

परिस्थिति सोचेभन्दा फरक भयो । घुम्ने रमाउने योजनामा फर्कनुभएका योगेशको केही समय अन्योल र अत्यासमा बित्यो ।

परदेश छँदा महिनैपिच्छे तलब लिने बानी । नेपालमा न काम न त हातमा दाम । परदेशमै भएको भए एक महिनापछि बढुवा हुने पक्का थियो । पद बढ्दा सेवा र सुविधा पनि बढ्थ्यो । तर कोरोनाले योगेशको सपना र सफलता दुवैमा ब्रेक लगाइदियो । न परदेश जान सकिने अवस्था रह्यो । न त स्वदेशमै केही काम थाल्ने परिस्थिती । केही कुरा पनि सोचे झैं नहुँदा लकडाउन सुरु भएपछिका केही महिना त योगेशलाई केही गरौं नै लागेन । 

लकडाउन केही खुकुलो भएपछि  देशको अवस्था पनि केही सामान्य बन्दै गयो । त्यसपछि भने महामारीमा परदेश जानुभन्दा देशमै केही गरौं भन्ने सोच पलायो । अनि, योगेशले गएको असोज महिनादेखि  ‘सप्लायर्स’ को काम थाल्नुभयो ।

‘निक्कै गाह्रो रैछ नेपालमा व्यापार गर्न, न सामान पाइन्छ, न भरपर्दो बजार नै,’ काम थालेपछिको आफ्नो अनुभव सुनाउँदै योगेशले भन्नुभयो,  ‘तर पनि म हारेको छैन, गर्छु संघर्ष, यसैमा मैले मेरो भविष्य खोज्नुछ ।’ 

दुई लाख ९० हजार रुपैयाँ लगानी गरेर उहाँले सप्लायर्सको काम सुरु गर्नु भएको हो । उहाँको सप्लायर्समा विवाह, पार्टीका लागि पुलाउ पकाउन प्रयोग गरिने चामल, फेनी रोटी, पास्नी र किटको कराई जस्ता सामान पर्छन् ।  चामलका लागि एक लाख पचास हजार र सामानका लागि एक लाख ४० हजार रुपैयाँ लगानी भएको छ । 

उहाँलाई अलि धेरै लगानी गर्न मन थियो । भन्नुहुन्छ, ‘परदेशमा रोजगारी गुमाएर नेपाल आएकालाई बिना धितो लोन दिने व्यवस्था छ भन्ने सुनेर बैँकमा लोन लिन गएँ तर पाइनँ, बैंकहरुले पाइँदैन भन्दै फर्काए,’ गुनासो गर्दै भन्नुहुन्छ योगेश ।

२०७२ देखि २०७७ फागुनसम्म यूएईमा रहदा सिकेका व्यवहारिक ज्ञान अहिले नेपालमा पनि काम लागेको छ । उहाँले यस समयवधिमा कसरी व्यापार गर्ने ?, समयको व्यवस्थापन कसरी गर्ने ?, सामूहिक काम कसरी गर्ने ? लगायतका सीप सिक्नुभएको थियो । यही सीप नै अहिले आफ्नो देशमा काम गर्न सहयोगी बनेको छ ।

उहाँ सप्लायर्सको काम गर्दै धरान, दमक, बिर्तामोडसम्म पुग्नुहुन्छ । काम गर्न निक्कै गाह्रो भए पनि नेपालमै केही गर्छु भन्ने सपनाले निरन्तर परिश्रमी बन्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ ।

रोजगारी गुमाएका श्रमिकलाई सहयोग मिले हुन्थ्यो

योगेशको परदेशमा जागिर गुम्यो । नेपालमै बस्नु पर्ने बाध्यता छ । त्यसै बसेर कमाई हुन्न । कमाइका लागि सप्लायर्सको काम त सुरु गर्नुभयो । तर लगानी पर्याप्त छैन । सरकारले सहुलियतमा ऋण दिने व्यवस्था गरे पनि बैंकमा जाँदा ऋण पाइँदैन ।

योगेशलाई लाग्छ, सरकारले केही गर्छु भन्नेलाई सहुलियतमा ऋण उपलब्ध गराउनुपर्छ । भएका व्यवस्थाहरु कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । सरकार नीति नियम बनाउने तर त्यसको कार्यान्वयन नहुँदा केही गर्छु भन्नेहरूलाई मर्का परेको र पलायन नै हुने अवस्था आउने गरेको उहाँको बुझाई छ ।

भन्नुहुन्छ, 'म देशमै केही गर्न चाहन्छु, केही काम पनि थालेको छु तर त्यसलाई अघि बढाउन अब सरकारको साथ र सहयोग चाहन्छु ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया