ठेक्का लिएर अलपत्र पार्ने कञ्चनपुरका २१ कम्पनीको नाम मन्त्रालय पठाइयो

 जेठ १६, २०७५ बुधबार २०:८:४० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर, जेठ १६ – कञ्चनपुरमा तोकिएको समयमा काम सम्पन्न नगर्ने २१ वटा आयोजनाका निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तोकिएको समयमा काम पूरा नगर्ने र समय थप गर्दा पनि काम अलपत्र पारेर छोडेका २१ वटा आयोजनाका निर्माण कम्पनीको नाम मन्त्रालयमा पठाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले समयमै काम सम्पन्न नगर्ने आयोजनाहरुमा सामुदायिक सिंचाई, पुल, डिभिजन सडक र ग्रामीण यातायात रहेका बताउनुभयो ।

२१ आयोजनाहरुमध्ये १३ वटा आयोजना कामको अन्तिम अवस्थामा पुगेका छन् भने ६ वटा आयोजनाको काम ५० प्रतिशत मात्र सकिएको छ । त्यस्तै, एउटा आयोजनाले ५५ प्रतिशत र अर्को आयोजनाले ७० प्रतिशत मात्रै काम पूरा गरेको देखिएको छ ।

एउटै निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने गरेकाले आयोजनाहरु समयमै पूरा नहुने गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँका अनुसार महाकाली नगरपालिका अन्तर्गत पर्ने झोलुङ्गे–कुतियाकबर सडकखण्डको आगामी भदौ १ गते समय सकिने भएपनि हालसम्म १७ प्रतिशत मात्रै काम भएको छ । 

५० प्रतिशत काम मात्र पूरा गर्ने कम्पनीहरुमा महालक्ष्मी÷एम.के.वे.भी. (महाकाली नगरपालिको झोलुगे–कुतियाकबर सडकखण्डमा १७ प्रतिशत), थेगिम ज्वाला जे.भी कैलालीे (कृष्णपुरको ओदाल खोला पुल, बुडर नाइल बंक सडक र सोही ठाउँकै खार खोला पुल ३५ प्रतिशत) रहेका छन् ।

त्यसैगरी, चन्द्रशेखर मल्ल धनगढी (कालापानी सिंचाइ योजना ४६.५८ प्रतिशत), थेगिम ज्वाला/जोशी निर्माण सेवा (ब्रह्मदेव सिंचाइ योजनाको ४९ प्रतिशत), सन्तोषी÷थेगिम ज्वाला कैलाली (वाणी–देखतभूली सडक, कृष्णपुर–लालझाडी सडकको ५५ प्रतिशत) र प्राकृतिक थ्च्र शनिदेव जे.भी. (सोतिया खोला पुल बेलौरीको ७० प्रतिशत) रहेका छन् ।

तोकिएको समय पूरा हुँदा पनि थोरै काम मात्र सक्ने निर्माण कम्पनीलाई विशेष निगरानीमा राखिएको बताउँदै प्रमुख जिल्ला अधिकारी खड्काले त्यस्ता ठेकेदारलाई स्थानीय प्रशासन र केन्द्रीय निर्देशन अनुसार कारबाही गरिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया