शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
दोलखा – दोलखाको कालीञ्चोक गाउँपालिका ८ सुनखानीको मलेपु गाउँ, जहाँ माझी समुदायको बाक्लो बसोबास छ । यो बस्तीभन्दा केही तलबाट तामाकोशी नदी बगे पनि पिउने पानीका लागि आधा घण्टा बढी हिँडेर छिमेकीसँग झगडा गर्दै एक गाग्रो पानी लिएर आउनु पर्थ्याे ।
पानीको मूल भए पनि गाउँसम्म ल्याइदिने कोही थिएनन् तर अहिले सामुदायिक विकास मञ्च नेपाल दोलखाले क्रिश्चियन एड नेपालसँगको सहकार्यमा घरको आँगनमै पानीको धारा पुर्याएपछि माझी समुदायका ३२ घरधुरी दङ्ग परेका छन् । उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशतसमेत गरि कुल १६ लाख नौ हजार सात सय ५१ रुपैयाँ लागतमा ३२ घरमा पानी पुगेको छ ।
कल्लेरी देउथली खानेपानी तथा सरसफाइ आयोजनाकी कोषाध्यक्षसमेत रहनुभएकी कल्पना माझी खेतको पानी पिउनुपर्ने अवस्था अन्त्य भएको बताउनुहुन्छ । ‘पहिले हामी खेतको पानी पिउँथ्यौँ, त्यही पनि गाग्री फालाफाल गर्नुपर्ने अवस्था आउँथ्यो । अब त ढुक्क छाैँ’, कल्पनाले भन्नुभयो ।
माझी बस्तीभन्दा केहीमाथि श्रेष्ठ, थामी र बादी समुदायको बसोबास छ तर समस्या माझी बस्तीकै जस्तो थियो । अहिले त्यहाँका ६२ घरधुरीमा आँगनमै धारो छ । कालीञ्चोक गाउँपालिकाको तीन लाख, दुई लाख ५६ हजार पाँच सय ८६ श्रमदान र सामुदायिक विकास मञ्चको १६ लाख ३९ हजार ६ सय ४४ गरि कुल २१ लाख ९६ हजार दुई सय ३० रुपैयाँ लागतमा मलेपु खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरिएको छ । ‘पिछडिएको समुदायको बसोबास रहेको बस्तीमा घरघरमा धारा कल्पना नै गरिएको थिएन’, स्थानीयवासी कमला बादीले भन्नुभयो, ‘घरमा धारा भएपछि करेसाबारी हराभरा भएका छन् ।’
सुनखानीकै भीमसेनटोल छहरा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २८ घरधुरीलाई खानेपानी वितरण गरिएको छ । कालीञ्चोक गाउँपालिकाको दुई लाख ३० हजार आठ सय ४९, सामुदायिक विकास मञ्चको आठ लाख सात हजार सात सय ५१, उपभोक्ता श्रमदान दुई लाख ६३ हजार ६ सय ५६ गरि कुल १३ लाख दुई हजार दुई सय ५६ रुपैयाँको लागतमा खानेपानी घरको आँगनमा पुगेको स्थानीयवासी चेतबहादुर माझीले बताउनुभयो । त्यहाँका स्थानीयवासीले धारोसमेत कलात्मक बनाएका छन् ।
तीन वटै आयोजनाको मर्मत सम्भारका लागि मर्मत सम्भार कोष खडा गरिएको छ भने पानी हेरालुको व्यवस्था पनि गरिएको छ । धारासँगै मिटर पनि जडान गरिएकाले आफूले प्रयोग गरेको पानीअनुसारको रकम उपभोक्ताले मासिक रुपमा तिर्ने सहमति भएको छ ।
कालीञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले वर्षाैँदेखि पिउने पानीको सुविधाबाट वञ्चित बादी र माझी बस्तीमा पानी पुग्दा हर्षित भएको बताउनुभयो । कालीञ्चोक गाउँपालिकाको एक घर एक धारा करेसाबारी हराभरा भन्ने नारा कार्यान्वयन भइरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।