दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कोन

 माघ १५, २०७७ बिहिबार ८:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, पालिका तथा विभिन्न सङ्घ संस्थासँगको समन्वयमा गाडी दुर्घटना न्यूनीकरण गर्न सडकमा टल्कने ट्राफिक कोन राखेको छ।

महाशाखाले काठमाण्डौ उपत्यकाको चक्रपथभित्र आठ तथा चक्रपथ बाहिरका २६ ठाउँमा गरी बढी दुर्घटना हुने ३३ ठाउँसमेत पहिचान गरेको छ । 

ती ठाउँका सडकमा विशेष गरी रातको समयमा सडकबत्ती नहुँदा अँध्यारोका कारण जेब्राक्रशिङ तथा जथाभाबी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा गाडी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न बढी दुर्घटना हुने ठाउँमा रातको समयमा समेत टल्कने कोनद्वारा स्पीड ब्रेकर बनाएर गति नियन्त्रण गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार यस्ता कोन उपत्यकाको विभिन्न सडकखण्डमा ४३० थान राखिएको छ । 

एयरपोर्ट गेट, कार्गो, तिलगङ्गा, बालकुमारी, भाटभटेनी ओराला, बल्खु चोक, सीतापम्प, खसीबजार, सीतापाइला उकालो, बाफल, सानो भर्‍याङ, वनस्थली, बबरमहललगायतको सडकखण्डमा ट्राफिक कोन राखिएको र यसलाई पछिसम्म निरन्तरता दिइने महाशाखाले जनाएको छ । 

यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पुस १३ गते बालकुमारीदेखि सानेपासम्मका विभिन्न १३ ठाउँमा २०० थान ट्राफिक कोन राखेको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया