महिला डकर्मीको अनुभव : खेतीपातीभन्दा घर बनाउनै सजिलो

 माघ १५, २०७७ बिहिबार १०:४१:३७ | उषा तामाङ
unn.prixa.net

दाेलखा - २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गयो । भूकम्पले बस्ने घर ढलायो । विद्यार्थीले पढ्ने विद्यालय भवन भत्कायो । आस्थाको केन्द्र गुम्बा, मन्दिर क्षतिग्रस्त बनायो । कयौँको ज्यान गयो, कयौँको रोजीरोटीको बाटो बन्द भयो । 

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ की बिमला बस्नेतलाई पनि भूकम्पपछि समस्या आइलाग्यो । २० वर्षअघि नै श्रीमानको मृत्यु भएपछि २ सन्तान र सासुको हेरचाह गर्दै आउनुभएकी बिमलाको बस्ने घर भत्कियो । 

खेतीपाती र मेलापात गरेर गुजारा चलाउने बिमलालाई भत्किएको घर पुनर्निर्माण गर्ने चुनौती थपियो । तर चुनौतीसँगै अवसर पनि आयो । श्रममा विश्वास गर्ने मेहनती बिमलालाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी ५० दिने तालिम अवसर बनेर आएको हो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले आयोजना गरेको तालिम नसकिँदै घर बनाउने काम बिमलालाई आइसकेको थियो । 

‘तालिम लिँदालिँदै केही कठिन पनि भएको थियो, त्यतिबेला यो काम मबाट हुन सक्दैन भनेर हरेस खाएकी थिएँ’ बिमलाले भन्नुभयो, 'अहिले त मैले घरको गारो लगाउँदा सबै हेरेको हेर्‍यै हुन्छन्।’ 

आँटे नसकिने केही छैन भन्ने बिमलालाई लाग्छ । भूकम्पपछि बिमलाले ३५ भन्दा बढी घर बनाउनुभयो । अहिले उहाँ जोखिम वर्गको घर निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नियुक्त गरेको घुम्ती डकर्मीको रुपमा कार्यरत हुनुहुन्छ । 

भूकम्पअघि खेतीपातीसँगै घर बनाउन प्रयोग हुने ढुङ्गा माटो बोक्ने कार्यमा व्यस्त रहने बिगु गाउँपालिका वडा नम्बर ६ आलम्पुकी ५० वर्षीया डम्बरमाया थामी हिजोआज अरुले दिएको ढुङ्गा मिलाएर गारो लगाउनुहुन्छ । 

भूकम्पपछि डकर्मी तालिम लिनुभएकी डम्बरमायाले ४५ वर्षदेखि घर बनाउन सुरु गर्नुभएको हो । सिङ्गो आलम्पु गाउँकै एक डकर्मी महिला उहाँले सीप सिकेपछि अहिलेसम्म खाली बस्नु परेको छैन । 

सहयोगीको रुपमा थोरै ज्यालामा काम गर्ने डम्बरमायाले पुरुष सरह ज्याला पाउनुहुन्छ । उहाँले घर खर्चसँगै छोरालाई काठमाण्डौमा इन्जिनियरिङ पढाउँदै हुनुहुन्छ । ‘पहिला पहिला कार्यालय सहयोगी पेशामा कार्यरत श्रीमानले सबै घरखर्च जुटाउनुहुन्थ्यो, मैले सिप सिकेपछि त छोरालाई पढाउँदैछु, घरखर्च पनि मै चलाउँछु’ डम्बरमायाले भन्नुभयो । 

गाउँमा बन्नुपर्ने घर सबै बनिसकेकाले कामको अभाव हुने हो कि भन्ने चिन्ताले भने डम्बरमायालाई सताउने गरेको छ । ‘खेतीपाती गर्नुभन्दा त घर बनाउनै सजिलो, पाएसम्म त घर नै बनाउने हो’ थामीले भन्नुभयो । 

आमा ठेकेदार, छोरी डकर्मी

दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेकी बालकुमारी काफ्ले पहिले घरधन्दा मात्रै गर्नुहुन्थ्यो । अहिले घर बनाउने ठेकेदारको काम गर्नुभएको छ  । श्रीमान बिरामीले थला परेपछि बाध्यताले २०५८ सालदेखि गिट्टी बालुवा बोक्न सुरु गर्नुभएकी बालकुमारी सीप सिकेर ठेकेदार बन्नुभएको हो । 

उहाँले भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालिम लिनुभयो । पुनर्निर्माणको मुख्य समय सबैको घर निर्माण गर्नुपर्ने भएकाले ठेकेदार बालकुमारीलाई काम झनै थपियो । त्यसपछि त उहाँकी छोरी डम्बरकुमारी कार्की पनि डकर्मी पेशामै लाग्नुभयो । 

लामो समयदेखि घर बनाउने काममा संलग्न आमालाई सघाउन डकर्मी तालिमै लिएर घर बनाउन थालेकी डम्बर कुमारीले भूकम्पपछि सदरमुकाम चरिकोटका २० भन्दा बढी घर बनाइसक्नुभएको छ । ६ जनाको परिवार आमाछोरीकै परिश्रममा चलेको छ । 

पुनर्निर्माण अन्तिम चरणमा पुग्दा काम नपाइने चिन्ता 

भूकम्पपछि जीवनमा नयाँ सिप, नयाँ पेशाकासाथ अघि बढेका डकर्मी महिलालाई पुनर्निर्माण अन्तिम चरणमा आइपुग्दा चिन्ता थपिएको छ ।

पुनर्निर्माणका ५ वर्षसम्म आफ्नै परिश्रममा कमाएका, परिवार पालेका महिला डकर्मीहरु भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा आइपुग्दा आउँदा दिनहरुमा सीपको प्रयोग गर्न पाइएला कि नपाइएला भन्ने सोच्न थालिसकेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया