जुम्लाको मार्सी चामललाई यसरी गरिँदैछ ‘नेपाल ब्राण्ड’

 माघ १८, २०७७ आइतबार ११:१८:३० | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै - केही समयदेखि चर्चामा रहेको जुम्लाको मार्सी चामल अब ‘नेपाल ब्राण्ड’ बनेको छ ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ब्रान्डिङ गरेको यो धानको चामलको बजार व्यवस्थापन पनि कम्पनीले नै गर्दैछ । यसका लागि पहिलो चरणमा सुर्खेतबाट २७० क्वीन्टल मार्सी चामल काठमाण्डाै ल्याएर प्याकेजिङको काम भइरहेको छ ।

यसअघि पनि कम्पनीले सिमी, फापरलगायत गेडागुडी खरिद गरेर बजारीकरण सुरु गरेको थियो । तर, कर्णालीको उत्पादन खरिद गर्न सरकारले अनुदान उपलब्ध गराउँदा समेत बजारीकरणमा समस्या भयो । यसै विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीसँग टेकमान शाक्यले कुरा गर्नुभएको छ ।

जुम्लाको मार्सी चामल ‘नेपाल फुड ब्राण्ड’ बन्न सफल भएको छ । मार्सी चामललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा लैजान सुरु गरेको छ । यसअघि पनि लिमिटेडले सिमी, फापरलगायत बेच्ने भनेर काम सुरु गरेको थियो । तर सोचेअनुसार त्यसले बजार लिन सकेन । गाउँको उत्पादनलाई सहरमा ल्याएर बेच्ने काम किन सुरु गर्नुभयो ?

सहरी क्षेत्रमा गाउँको उत्पादन बिक्री गर्ने हाम्रो रणनीति हो । किसानलाई उपयुक्त मूल्य पनि दिने र उपभोक्तालाई धेरै मर्का नपर्ने गरेर बिक्री गर्ने भन्ने हाम्रो उदेश्य हो । हामीले यो पटक चाहिँ मार्केटिङ पनि गर्ने भनेका छौँ । यसअघि यो काम भएको थिएन ।

स्याम्पलसहित कार्यालय, बजारहरु र विभिन्न सहरमा पुग्ने रणनीति हाम्रो छ । मुख्यतः सहरमा गाउँको सामान ल्याएर बेच्ने र गाउँको जीवनस्तर उकास्ने नै हाम्रो उदेश्य हो । अहिलेको सिकाइको आधारमा अरु उत्पादित वस्तुहरुमा पनि जाने भनेर हामीले तयारी गर्दैछौँ ।

यसअघि कर्णालीको उत्पादन खरिद गर्न भनेर सरकारले अनुदानसमेत उपलब्ध गरायो । तर, खरिद गरिएको सिमी, फापर अपेक्षाअनुसार बिक्री गर्न सकिएको थिएन । मार्सी धानको चामलको बजारीकरणमा पनि त्यही समस्या हुने हो कि ?

तपाईंले भन्नुभएजस्तै यो सन्देह हामीले हटाउन चाहन्छौँ । विगतको सिकाइबाट सुधार गर्दै हामीले अघि बढ्नुपर्ने हुन्छ । खाद्य संस्थानबाट कम्पनी लिमिटेड भए पनि कतिपय नीतिगत कुराहरु सुधार गर्न हामीलाई पनि अहिले सजिलो भैरहेको छ । नीतिगत रुपमा पनि दबाब मिलिरहेको छ ।

मार्सी चामलमात्रै होइन, अरु चिजमा पनि किसानसँग अथवा अरु कम्पनीबाट किन्ने र बजारमा लैजाने भनेर हामी त्यहीअनुसारको तयारी गरिरहेका छौँ । सम्भवतः तपाईँले भन्नुभएको र लक्षित गर्नुभएको समस्या फेरि फर्किँदैन । हामी ढुक्क भएर काम अघि बढाउँदै छौँ । बिक्री भएन भनेर खरिद गरिएको सामग्री थन्क्याएर राखेर हामीले धरै पाउँदैनौँ ।

केही वर्षअघि जुम्लाको मार्सी धानको चामलको चर्चा भएसँगै प्रमुख बजारका डिपार्टमेन्ट स्टोरहरुमा यसको बिक्री सुरु भयो । केही निजी क्षेत्रका फर्महरुले अहिले पनि बिक्री गरिरहेकै छन् । तपाईंहरु र निजी फार्मले यसको बजारीकरण गर्नुमा के फरक छ ?

हामी सरकारको स्वामित्वमा रहेको कम्पनीले प्रत्यक्ष किसानबाट किनेर बेच्न खोजिरहेका छौँ । बजार मूल्य चाहिँ अरुले भन्दा हामीले दुई रुपैयाँ मात्रै भए पनि कम राख्छौँ । त्यसले पनि उपभोक्तालाई केही न केही राहत मिल्छ । कहिले उत्पादन भएको, कहिलेसम्म रहने र स्वास्थ्यका लागि कतिको उपयुक्त छ भन्नेबारे जानकारी गराउँछौँ ।

काठमाण्डौ उपत्यका र सुर्खेतमा घरमै डेलिभरी गर्ने व्यवस्था पनि गरेका छौँ । नेपालफुड डट जीओभी डट एनपीमा लगइन गरेर अनलाइन पे गर्ने र सामान घरमै पुर्याइदिने सुविधा पनि राखेका छौँ । निजी फार्मभन्दा अलि धेरै सेवा तथा सुविधा दिने हिसाबले हामीले काम गरिरहेका छौँ ।

कुन-कुन ठाउँबाट सुविधा उपलब्ध गराउँदै हुनुहुन्छ ?

मुख्य सहरी क्षेत्रमा हामी केन्द्रीत हुन खोजिरहेका छौँ । काठमाण्डौ, पोखरा, विराटनगरलगायत सहरमा हामीले यसलाई पुर्याउँछौँ । अरु सामग्री पनि थपिदै जाँदा कुन ठाउँमा कुन सामग्रीको माग धेरै रहन्छ भन्ने अध्ययनपछि हामी आवश्यकता अनुसार अघि बढ्छौँ ।

काठमाण्डौका ५ ठाउँमा रहेका काउन्टरमार्फत हामी सुविधा उपलब्ध गराएका छौँ । थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायक र लगनखेलबाट मार्सी धानको चामल किन्न सकिन्छ । भाटभटेनीलगायत डिपार्टमेन्ट स्टोरसँग पनि हामीले सहकार्यबारे छलफल गरिरहेका छौँ । 

गाउँमा उत्पादन भएको सामग्रीलाई बजारसम्म लैजान त्यसबीचमा प्रशोधन पनि गर्नुपर्ने होला । यसबीचमा प्रशोधन कसरी गर्ने र बजारमा उपभोक्तासम्म कसरी लैजाने भन्ने रणनीति कसरी बनाउनुभएको छ ?

हामीले त्यसका लागि गुणस्तर इकाईसमेत बनाएका छौँ । यसले कस्तो खालको प्याकेजिङ गर्ने, हाम्रो नीतिले के भन्छ, कानुनले के भन्छ त्यसबारे प्रष्ट भएर अघि बढेका छौँ ।

निश्चित अवधिभित्रै बजारमा पुर्याउने दबाब पनि हामीलाई छ । बजारमा जति बिक्री हुँदै जान्छ, त्यसैअनुसार किसानसँग किन्दै जाने रणनीति हामीले बनाएका छौँ । दुर्गमको उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने र सहरको समाग्री गाउँमा पुर्याउने भन्ने नै हाम्रो रणनीति हो ।

जुम्लामा उत्पादन हुने यो चामल ब्रान्डिङ भएसँगै यसको माग अन्तर्राष्ट्रिय स्तरसम्म हुन सक्छ, अन्तर्राष्ट्रिय बजारमा यसलाई कसरी पुर्याउने भन्ने केही योजना बनाउनुभएको छ ?

सुरुमा त देशभित्रकै मुख्य सहरहरुमा कसरी पुर्याउने भन्ने हेर्छौं । अनलाइनको जमाना भएकाले जब हामी नेपालमा अलिक चर्चित हुन्छौँ, विदेशबाट पनि स्वभाविक रुपमै माग आउँछ भन्ने हाम्रो आँकलन हो । त्यसपछि विदेशमा पनि लगेर बेच्ने र नेपालको मार्सी चामललाई विभिन्न देशमा पुर्याउने भन्ने उदेश्य छ ।

किसानबाट कतिमा किन्ने र उपभोक्तालाई कतिमा बेच्ने भन्ने कुराको लेखाजोखा कसरी गर्दै हुनुहुन्छ ?

बजार मूल्यअनुसार किसानको उत्पादन खरिद गरेर उपभोक्तासम्म पुर्याउँदा त्यसबीचमा पनि धेरै खर्च लाग्ने समस्या छ । त्यसै लागतअनुसार चामल बिक्री गर्न थालियो भने हाम्रो मूल्य बढी पर्ने डर हुन्छ । बजार रेटभन्दा कममा बेच्नुपर्ने र बजार रेटभन्दा बढीमा किन्नुपर्ने समस्या छ ।

यो बीचको खर्च सरकारले ब्यहोर्छ भन्ने हाम्रो अनुमान छ । सरकारी कम्पनीको नाताले किसानबाट ल्याएर उपभोक्तासम्म पुर्याउन लाग्ने खर्च सरकारले अनुदानस्वरुप बेहोर्छ भन्ने अनुमान गरेका छौँ । त्यसो हुन सक्यो भने उपभोक्ता र उत्पादक दुवैलाई फाइदा हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया