२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमीलाई

 माघ २५, २०७७ आइतबार ७:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - २०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ ।

समीर गजल सङ्ग्रहका गजलकार प्रकृति प्रेमीलाई शनिवार एक कार्यक्रमकाबीच साहित्यकार जे सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार रुपैयाँ र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो ।

साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरुमध्ये उत्कृष्ट एउटा सङ्ग्रहलाई प्रदान गर्ने गरिएको छ । यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो । 

गजलकार प्रकृति प्रेमी अहिले चितवनमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गरी अर्का गजलकार विपिन स्वाँरले काठमाण्डौमा पुरस्कार ग्रहण गर्नुभएको हो । हरेक वर्ष भदौ १० गते प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष कोरोनाका कारण ढिलागरी दिइएको पुरस्कार संयोजक अच्युत घिमिरेले बताउनुभयो । 

गजलकार प्रकृति प्रेमी​ले छायाँदेवी चेतनाथ गजल पुरस्कार​ प्राप्त गरेपछि आफूलाई अध्ययन र स्तरीय लेखनका लागि थप उत्साह मिलेकाे बताउँदै खुसी व्यक्त गर्नुभएकाे छ । उहाँले अबका दिनमा आफू साहित्य सिर्जना तथा लेखनमा निरन्तर​ लागिरहने बताउनु भएकाे छ । 

'यत्ति भए पुग्छ' गजल सङ्ग्रहका गजलकार जे सागरले आफ्ना मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीका नाममा स्थापित गर्नुभएको यो पुरस्कार २०७४ सालमा सम्पादक आवाज शर्मा र २०७५ सालमा गजलकार टक गुरुङलाई प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया