बालुवाटारको जोडबलमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

 माघ २९, २०७७ बिहिबार १४:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताउनुभएको छ ।

पेरिसडाँडामा आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको भेलामा प्रचण्डले झाँक्रीलाई बुधवार (हिजो) पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीवार (आज) प्रहरीले पक्राउ गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्रिनै पर्‍यो, जसरी भए पनि पक्राउ गर भन्या छ भन्ने थियो । हामीले रोक्न बल गर्‍यौँ, हिजो बेलुकादेखि बिहानसम्म पनि । अहिले खबर आयो उनीहरूले जबरजस्ती कमरेड रामकुमारीलाई पक्राउ गरेर लिएर गएका छन् ।’ 

झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातिका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै अध्यक्ष दाहालले त्यसविरुद्ध एकजुट हुन पनि आह्वान गर्नुभयो ।

झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै प्रचण्डले देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गर्नुभयो ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।     

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया