सडक बनेपछि पाटेनागी पुग्न सहज

 माघ २९, २०७७ बिहिबार २०:२९:१७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम नगरपालिका ३ पुवामझुवाको पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको बागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ किलोमिटर कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो । 

नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडामार्फत सडक खन्ने काम सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न झण्डै २५ मिनेट समय लाग्ने भएको पालिकाका कर्मचारी हेमराज ढकालले बताउनुभयो ।धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्त्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । ‘सडक नबन्दासम्म पाटेनागी पुग्न चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो’, ढकालले भन्नुभयो ।

पर्यटनका लागि मनोरञ्जनको एक मुख्य केन्द्रविन्दु बन्ने पाटेनागी लगानीको अभावमा चर्चा नपाएको क्षेत्र हो । सडक पुगेपछि अब पर्यटकका लागि यात्रा सहज भएको वडा नम्बर ३ का वडाध्यक्ष तीर्थ गुरुङ्ग बताउनुहुन्छ । 

‘यस क्षेत्रबाट विभिन्न ठाउँका रमणीय दृश्य देख्न पाइन्छ, विभिन्न जातका गुराँस पाइन्छ, घना जङ्गल रहेकाले विभिन्न प्रजातिका जडीबुटी पाइन्छ । सूर्योदयको दृश्यका साथै रेडपाण्डाको समेत अवलोकन गर्न पाइने भएकाले यस क्षेत्रमा पालिकाले लगानी गर्न आवश्यक छ’, गुरुङ भन्नुहुन्छ ।

इलामको एक सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पाटेनागीमा भौतिक पूर्वाधार निर्माणका लागि लगानी गर्न थालिएको पालिका प्रमुख महेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक पुग्यो, अब पनि पालिका चुप रहेर बस्दैन । अन्य पूर्वाधार– खानेपानी, बिजुली पुर्‍याउने र त्यहाँ भएका स्रोतलाई व्यवस्थापन गर्न जग्गा लिजमा उपलब्ध गराउने लगायतका काममा समेत पालिका निरन्तर खट्नेछ ।’ 

के हो पाटेनागीको मुख्य आकर्षण ?

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको यस क्षेत्रबाट चाँदी झैँ टल्किएका हिमालको दृश्य नियाल्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मजा लिन सकिन्छ ।

यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घालगायतका हिमाल देख्न सकिन्छ । प्रदेश १ का धेरै जिल्लाका रमणीय भू–भाग नियाल्न सकिन्छ । यस क्षेत्रमा रेडपाण्डा पाइन्छ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । 

यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गमस्थल मानिन्छ । यहाँ नागढुङ्गा छ । त्यसैले यो क्षेत्र धार्मिक हिसाबले समेत अब्बल छ । गाईवस्तुले दूध दिएन भने नागढुङ्गामा पूजा गर्दा गोठ सप्रने र गाईले दूध दिने धार्मिक विश्वास रहिआएको वडाध्यक्ष गुरुङ्गले बताउनुभयो । 

नागढुङ्गामा नाग, शङ्खलगायतका विभिन्न आकृति देख्न सकिने गुरुङको भनाइ छ । यस क्षेत्रमा १२ प्रजातिका गुराँस पाइन्छन् ।  

पाटेनागीमा घना गुराँसे जङ्गल रहेकाले चैत वैशाखको समयमा जङ्गल नै राताम्मे भएको दृश्य देख्न पाइन्छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जङ्गल छ । फरक–फरक रङ्गमा फुलेका गुराँसले जता हेर्‍याे त्यतै राताम्मे भएको दृश्यको अवलोकन गरी पर्यटकले मजा लिन सक्नेछ । 

इलामको इलाम नगरपालिकाको सदरमुकामबाट ४० किलोमिटर टाडा र बागखोर बजारबाट ६ किलोमिटरको यात्रापछि पाटेनागी पुग्न सकिन्छ ।   

अन्तिम अपडेट: चैत २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया