टिप्परको ठक्करबाट स्थानीयको ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त

 फागुन १, २०७७ शनिबार १६:५:५८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिप्परको ठक्करबाट स्थानीयकाे ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त बनेको छ ।

२३ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार खड्गबहादुर राई र उहाँकी श्रीमती प्रेमकुमारी राईलाई अरुण तेस्रो जलविद्युत परियोजनाको टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट सामान्य घाइते हुनुभएका खड्गबहादुरलाई टिप्पर पछाडि गरेर किचेर मारेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी प्रेमकुमारीलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ । उहाँको काठमाण्डौको चाबहिलमा रहेको हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक काभ्रेको नवोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडित पक्षले क्षतिपूर्ति बिना लाश नउठाउने माग राख्दै शनिबार दोस्रो दिन पनि अरुण तेस्रो ड्यामसाइटमा आन्दोलन जारी राखेका छन् । 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले पीडितपक्ष र अरुण तेस्रोका कर्मचारीसँग वार्ता गरेर समस्याको निकास निकालिने बताउनुभएको छ । वार्ताका लागि सदरमुकाम खाँदबारीबाट सहायक प्रजिअ मोहनमणि घिमिरे र अरुण तेस्रोका कर्मचारीकाे टोली ड्यामसाइट तर्फ गएकाे छ ।

बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना संखुवासभामा निर्माणधीन रहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने गरि काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत्त परियोजना भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया