अफगानिस्तानमा सैन्य उपस्थिति बढाउने पक्षमा जर्मनी

 फागुन २, २०७७ आइतबार ८:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मनीका विदेशमन्त्री हेइको मासले जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको बताउनुभएको छ ।

जर्मनीले अफगानिस्तानमा अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि प्राप्त भएको वार्षिक जनादेश सकिनुभन्दा पहिले अफगानिस्तानको सरकार र तालीबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीले जनाएको छ । शान्तिवार्ता मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम रहेको भन्दै जर्मनीका विदेशमन्त्री मासले त्यस बेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने बताउनुभएको छ ।

यसअघि संयुक्त राज्य र तालीबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बाइडेनले समय सीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालीबानले हिंसा अन्त्य गर्ने कुनै सङ्केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीको भनाइ रहेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालीबानी समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गएको वर्ष तालीबानसँगको वाशिङ्टनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान सुरु भएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यतिर बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने निर्क्याैल गरिने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया