म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन हुँदै, नेतृ सुकीलाई रिहा गर्न माग

 फागुन २, २०७७ आइतबार १४:३२:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी/रासस

काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ । 

विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् । 

म्यानमारको सबैभन्दा ठूलो सहर यङ्गोनमा इञ्जिनियरका विद्यार्थीहरुले सेतो कपडा लगाएर प्रदर्शन गरेका छन् । उनीहरुले हातमा नेतृ सुकीको समर्थनमा नारा लेखिएका पोस्टर लिएका थिए । 

गएको १ फेब्रुअरीमा म्यानमारको सेनाले 'कू' गर्दै शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गर्दै लोकतान्त्रिक पद्धतिबाट चुनिएका नेताहरुलाई हिरासतमा लिएको थियो । जसमा नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत छन् ।

सैन्य 'कू' को विरोधमा भएको आन्दोलनमा अहिलेसम्म झण्डै चार सय प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । 

म्यानमारको सबै सहरमा प्रहरी र सेनाको वाहनले गस्ती गरिरहेको छ । नागरिकमा सैन्य कारबाहीको डर पनि छ तर यी सबैका बीच प्रदर्शन रोकिएको छैन ।  

यङ्गोनमा भएको एक प्रदर्शनमा नागरिकहरुले ‘रातमा नागरिकलाई पक्राउ गर्न बन्द गर’ भन्दै नारा लगाएका छन् ।

यसअघि म्यानमारको सेनाले २३ हजारभन्दा धेरै कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो । यसलाई लिएर आफ्ना प्रदर्शनमा अनुशासन भङ्ग हुने हो कि भन्ने स्थानीयमा डर छ । 

म्यानमारको भएको सैन्य 'कू' को विरोधमा विभिन्न देशले कडा निन्दा गर्दै लोकतन्त्रको पुनस्र्थापना हुनुपर्ने बताइसकेका छन् ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया