आत्मघाती गाेलबाट अग्रता लिएकाे एपीएफले पुलिसलाई हरायाे, वालिङ विराटनगरसँग स्तब्ध

 फागुन ३, २०७७ सोमबार १९:२७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आत्मघाती गोलबाट अग्रता लिएको एपीएफले पुलिसमाथि दुई–एकको सङ्घर्षपूर्ण जित निकाल्दै महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ । 

ललितपुरको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले पुलिसलाई दुई–एकले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेका विभागीय डर्बीमा पुलिसले ६९ औँ मिनेटमा आत्मघाती गोल दिएपछि आफै दबाबमा परेको थियो । घिमकुमारी गुरुङले गोल गर्दा एपीएफले अग्रताको अवसर पाएको थियो । दबाब दिँदै खेल पस्किएको पुलिसका लागि अमृता जैशीले ७५ औँ मिनेटमा गोल गर्दै एपीएफविरुद्ध खेल बराबरीमा ल्याएकी थिइन् ।

अघिल्ला खेलमा फराकिलो जित निकाल्दै अपराजित यात्रालाई कायम राखेको एपीएफका लागि खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलले गोल गर्दै अग्रता दुई–एकमा पुर्‍याइन् । त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र एपीएफले पुलिसविरुद्ध सङ्घर्षपूर्ण जित निकाल्न सफल भयो ।

रोमाञ्चक जित निकालेको एपीएफले १० औँ खेलमा अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधि नजिकसमेत पुगेको छ । १० खेलबाट स्पष्ट ३० अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा यथावत् रहँदा अङ्क गुमाएको पुलिसको १० खेलबाट १४ अङ्क भएको छ । पराजयसँगै पुलिसको उपाधि उचाल्ने समीकरण समाप्त भएको छ ।  

लिगअन्तर्गत सोमवारै सम्पन्न भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिका स्याङ्जालाई एक–शून्यले स्तब्ध बनाएको छ । ३५ औँ मिनेटमा भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो । विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारीले बललाई जाली चुमाउन सफल भएकी थिइन् । पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा खेलमा फर्किने सङ्घर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अङ्क सुम्पिन बाध्य भएको हो ।

जितसँगै विराटनगरले १० खेलबाट १३ अङ्क जोडेको छ । विराटनगर तालिकाको पाँचौँ स्थानमा रहँदा अङ्क सुम्पिएको वालिङको १४ अङ्क  छ । वालिङ तालिकाको तेस्रो स्थानमा छ । पुुलिससँग समान अङ्क भए पनि गोल अन्तरका आधारमा वालिङ तेस्रो स्थानमा अटाएको हो ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया