म्यानमारकी नेतृ सुकीको नजरबन्द समय दुई दिन थपियो

प्रदर्शनकारीले घृणा फैलाउने काम गरे २० वर्ष जेल हाल्ने सैन्य सरकारको चेतावनी

 फागुन ३, २०७७ सोमबार १९:५८:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर, एजेन्सी

काठमाण्डाै – म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको नजरबन्द समय दुई दिन थप गरेको छ । जनवरी १ तारिखको बिहानै सैन्य 'कू' गरेर सत्ता हातमा लिएको सेनाले सुकीसहितका नेताहरूलाई १५ दिनको नजरबन्दमा राखेकोमा साेमवार दुई दिनको समय थपेको बीबीसीले जनाएको छ ।

सैन्य 'कू' को विरोधमा म्यानमारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम नागरिकसँगै भिक्षु तथा पेसाकर्मीहरूसमेत प्रदर्शनमा निस्किएपछि सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ । सेनाले प्रदर्शनमा सहभागी हुनेहरूलाई घृणा फैलाउने काम गरेमा २० वर्षसम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ । 

जनप्रदर्शनलाई रोक्नका लागि मुख्य सहरहरूमा सेनाले बाक्लो सङ्ख्यामा बख्तरबन्द गाडी उतारेकाे छ । पछिल्लो जनप्रदर्शन म्यानमारमा दशकयताकै ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

म्यानमार सेनाले इन्टरनेट सेवाको अवरोध भने आठ घण्टापछि  हटाएको छ । सरकारी कर्मचारीको हड्ताल र मुख्य सहरमा जनप्रदर्शनपछि सेनाले इन्टरनेट सेवा बन्द गराएको थियो ।

सैन्य सरकारकाे विराेधमा म्यानमारमा गएकाे १० दिनदेखि नागरिकहरूले प्रदर्शन गरिरहेका छन् ।  

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया