लकडाउनमा थलिएको पर्यटकीय क्षेत्रमा बिस्तारै आशा जाग्दै

 फागुन ४, २०७७ मंगलबार १८:४०:४७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – लकडाउनमा थलिएको पर्यटकीय क्षेत्रमा बिस्तारै आशा पलाउन थालेको छ । दिनहुँजसो बाह्य तथा आन्तरिक पर्यटकको आवागमनले पर्यटकीय क्षेत्रकै भरमा चलेका विभिन्न व्यवसाय तथा होटल व्यवसायीहरूमा अब भने सहज हुन्छ भन्ने आशा पलाउन थालेको हो । 

कोरोना भाइरस (कोभिड–१९) का कारण सबै पर्यटकीय क्षेत्र सुनसान देखिन्थे, न त आन्तरिक पर्यटक भेटिन्थे न त बाह्य नै । होटल बन्द थिए । पर्यटकको सत्कारमा खटिने पर्यटनकर्मी बेकामे बनेकाले भाडामा बस्नेहरु घर गए । घरै त्यहीँ हुनेहरू कसरी दिन कटाउने भनेर सोच्दैमा ठिक बने । कतिको त हातमुख जोड्ने माध्यम नै खोसियो । 

तर अहिले भने स्थानीय पर्यटकको चहलपहल बढ्दै गएको व्यवसायीहरू बताउँछन् । स्थापित पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, माईपोखरी र सन्दकपुरमा त छँदैछ, नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे । यही चहलपहलले शून्यताका कारण पर्यटनमा सम्भावना देख्नै छोडेकाहरूमा पनि फेरि आशा पलाउन थालेको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष तथा व्यवसायी धनकुमार आले मगरले बताउनुभयो । 

इलामका पर्यटकीय क्षेत्र कोरोना कहरका कारण ६ महिना पूरै सुनसान बने । तर अहिले अवस्था फेरिएको छ । ‘खोलिएको सुरुवाती चरणमा मुस्किलले दिनमा एकदेखि एक सय ५० को सङ्ख्यामा मात्रै पर्यटक आइरहेका थिए । अहिले भने हरेक दिन एक हजारदेखि एक हजार पाँच सयसम्म पर्यटक आइरहेका छन् । यसले त्यति ठूलो भरथेग त गरेको छैन तर पनि बेकामे बनेर बस्न भने परेको छैन’, अध्यक्ष मगरले भन्नुभयो । 

‘हरेक शुक्रबार चाहिँ यहाँ १५ सयदेखि ६ हजारसम्म पर्यटक आउँछन्’, उहाँ भन्नुहुन्छ, ‘यस दिन भने यहाँका होटल, होमस्टे सबै भरिन्छन् ।’ धेरैजसो पर्यटक शुक्रबार आएर बस्ने अनि शनिबार फर्कने गरेको उहाँको भनाइ छ । मेची राजमार्गको कन्यामबाट झण्डै १४ किलोमिटरमा रहेको अन्तु पुग्न सडक सहज भइसकेको छ । 

इलामसहित छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धरान, धनकुटा, पोखरा, ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत ठाउँबाट यहाँ पर्यटक आउँछन् । भारतको पश्चिम बङ्गालबाट पनि फाट्टफुट्ट पर्यटक आइपुग्छन् ।

लकडाउनको चपेटामा परेका यहाँका होटल–होमस्टेका व्यवसायी अहिले भने सन्तोषको सास फेरिरहेका छन् । बाह्य फाट्टफुट्ट देखिए पनि आन्तरिक पर्यटकको चाहिँ घुइँचो नै लाग्ने गरेको होमस्टेका सचिव तथा अर्का व्यवसायी रुद्र घिमिरेले जानकारी दिनुभयो । आन्तरिकमा झापा, मोरङ, सुनसरीका धेरै छन् ।  

सूर्याेदय, सूर्यास्त, हिमशृङ्खला, अन्तुपोखरी र चियाबारीको मनमोहक दृश्य श्रीअन्तुका मुख्य आकर्षण हुन् । नेपालकै लोपोन्मुख लेप्चा जातिको संस्कृति अध्ययन, अवलोकनका लागि पनि अन्तु परिचित छ । अन्तु क्षेत्र कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैँची, मौसम अनुसारका फलफुल तथा अन्य बालीनालीले पनि सिङ्गारिएको छ । यी दृश्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीयको भनाइ छ । 

इलामको सूर्योदय नगरपालिकाको ४ र ५ नम्बर वडाको बीचमा पर्ने श्रीअन्तुको अन्तुपोखरी र अन्तुडाँडा क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल÷कटेज सञ्चालमा छन् । अन्तुडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । 

यहाँको एउटै होमस्टेमा पर्यटकीय सिजनमा महिनामै ६० देखि साढे तीन हजार जनासम्म पर्यटक आउने गरेका छन् । होमस्टे व्यवसायीले महिनामा ६० हजारदेखि एक लाख रुपैयाँसम्म कमाउने बताएका छन् ।  

अहिले अन्तुमा मात्रै होइन इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ र ३ को बीचमा पर्ने माईपोखरी र यसै पालिकाको वडा नम्बर ४ र ५ को बीचमा पर्ने सन्दकपुरमा पनि पर्यटकको बाक्लै उपस्थिति छ ।

सन्दकपुरमा अहिले दैनिक तीन सय पर्यटक भेटिन्छन् । यस क्षेत्रमा पर्यटकका लागि वर्षमा दुई मुख्य सिजन मानिन्छ । असोज, कात्तिक र मङ्सिर एक सिजन तथा फागुन, चैत र वैशाख अर्को सिजन । यी दुई सिजनमा पहिलो सिजन सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि हो भने दोस्रो सिजनमा फुलेका गुराँस हेर्नका लागि पर्यटक आउने गर्छन् । 

इलाम सदरमुकामबाट उत्तरतर्फ ३६ किलोमिटरको दुरीमा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ । छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिए जस्तो लाग्नु यसको मुख्य आकर्षण हो । विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये १२ प्रजातिका गुराँस एकै ठाउँमा पाइनु पनि यसको अर्को मुख्य आकर्षण हो । 

यस क्षेत्रमा झण्डै ६० प्रतिशत भारतीय पर्यटक आउने गरेका छन् भने तेस्रो देशका पर्यटक र नेपाली पर्यटक कम मात्रामा पुग्ने गरेको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरीराज खनालले जानकारी दिनुभयो ।

सन्दकपुरमा १५ वटा होटल रहे पनि नेपालीका तीन वटामात्र होटल रहेको होटल सनराइजका सञ्चालक छिरिङ दोर्जे शेर्पाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ रहेका धेरैजसो होटल  भारतको सरकारी निकायले निर्माण गरेका छन् । नेपाली क्षेत्रमा रहेका होटलमा दुई सयको हाराहारीमा पर्यटक अटाउने गरेका छन् भने बाँकी पर्यटक भारतीय होटलमा नै बस्दै आएका छन् ।’

पालिकाको लगानीले पर्यटकलाई लोभ्याउँदै 

पर्यटकीय पूर्वाधार विकासका लागि अहिले पालिकाले लगानी गर्न थालेको छ । मुख्य पर्यटकीय गन्तव्य मानिने क्षेत्रमा पर्यटकलाई लोभ्याउन भौतिक पूर्वाधारका लागि पालिकाले गर्न थालेको हो । 

अहिले श्रीअन्तुको अन्तुपोखरी वरिपरि सोलार बत्ती जडान गरिएको छ । साँझ र रातिसमेत हिँडडुल गर्न सजिलो बनाइएको छ । वरिपरि चियाबारीले घेरिएको अन्तुपोखरी आफैमा सुन्दर छ । सोलार बत्तीको जडानपछि गोधूलि साँझमा अझ आकर्षक देखिन थालेको छ । बिहानको सूर्योदयले चर्चा पाएको अन्तु अब साँझको अन्तुपोखरीले चम्किन थालेको स्थानीय व्यवसायीहरु बताउँछन् । 

‘साँझमा वरिपरिको सोलार र रिसोर्टहरू बाहिर बालिएको झिलिमिली बत्तीले अन्तुपोखरी साँच्चिकै सुन्दर देखेँ’, पाँचथरबाट अन्तुपोखरी घुम्न पुग्नुभएकी शान्ति गुरुङ्गले भन्नुभयो । उहाँ साँझमा अन्तुपोखरी घुम्दा साँच्चै आनन्द लागेको बताउनुहुन्छ ।  

सूर्याेदय नगरपालिकाले झण्डै ४० लाख रुपैयाँ खर्चेर अन्तुपोखरीको पर्यटकीय पूर्वाधार विकास गरेको पालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘पर्यटक आकर्षित गर्न नगरले अन्तु क्षेत्रलाई प्राथमिकतामै राखेको छ । अन्तु मात्रै होइन सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा पनि लगानी गरिरहेका छौँ ।’   

सूर्याेदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात अन्तुडाँडामा सूर्याेदय अवलोकनपछि पर्यटकहरू अन्तुपोखरीमा डुङ्गा सयर गर्ने गरेका छन् । श्रीअन्तुमा चार वटा डुङ्गा छन् । यी डुङ्गा अहिले मुस्किलले चलिरहेको अध्यक्ष तथा व्यवसायी आले मगर बताउनुहुन्छ । 

यस्तै इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर क्षेत्रमा पनि भौतिक पूर्वाधार विकासका लागि लगानी भइरहेको पालिकाले जनाएको छ । सन्दकपुर क्षेत्रमा पुग्न सहज होस् भनेर बाटो, धार्मिक स्थल र सार्वजनिक शौचालयका लागि दुई आर्थिक वर्षमा दुई करोड रुपैयाँ लगानी भइसकेको पालिकाका प्रवत्ता गीरीराज खनालले जानकारी दिनुभयो । 

आउँदा दिनमा सन्दकपुरमा गेस्ट हाउस निर्माणका लागि एक करोड चार लाख रुपैयाँ लगानी गर्ने पालिकाले कार्ययोजना बनाएको समेत उहाँले बताउनुभयो । यसैगरी सन्दकपुरमै रहेको अर्को पर्यटकीय क्षेत्र माईपोखरीमा समेत पालिकाले दुई आर्थिक वर्षमा एक करोड रुपैयाँ लगानी गरेको छ । यो लगानीमा डुङ्गा सयरका लागि कृत्रिम दुई पोखरी, बगैँचा निर्माण गर्नेजस्ता काम भए । अहिले पोखरीमा दुई वटा डुङ्गासमेत सञ्चालनमा छन् । 

पहिचान भएका नयाँ क्षेत्रसमेत पर्यटकका रोजाइमा 

लकडाउनपछि भने पहिचान हुन बाँकी रहेका इलामका अन्य पर्यटकीय क्षेत्रसमेत पर्यटकको रोजाइमा पर्न थालेको छ । इलामका पहिचान भएका र पर्यटकको रोजाइमा परेका नयाँ पर्यटकीय क्षेत्रमा दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डीडाँडा, गुफाथुम्की मुख्य हुन् । 

पालिकाको प्राथमिकतामा नपरेका पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र पालिका भौतिक निर्माण र व्यवस्थापनमा जुट्न थालेका छन् । हुन त केही पर्यटकीय स्थल चलचित्र र म्युजिक भिडिओको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आएका छन् । सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा तस्बिर पनि आए । यसैले पनि धेरै पर्यटक त्यही क्षेत्र पुग्न थालेको पर्यटनकर्मीको भनाइ छ । 

पहिचान भइसकेका र विभिन्न समय महोत्सवसमेत गरिएका स्थापित पर्यटकीय क्षेत्रमा भने सन्दकपुर, माईपोखरी, अन्तु, कन्याम, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङलगायत हुन् । 

होटल एसोसिएशन इलामका अध्यक्ष तथा इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल भन्नुहुन्छ, ‘स्थापित मात्रै होइन पहिचान भएका नयाँ पर्यटकीय क्षेत्रमा समेत आन्तरिक र बाह्य पर्यटक आइरहेका छन् । पर्यटन क्षेत्र उठ्न सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ ल्याउनुपर्छ अनि सहज हुन्छ । नत्र गाह्रो छ, जिल्लाका धेरै होटल अझै पनि शून्यस्तरमा नै छन्’, उहाँले भन्नुभयो ।

फिल्म छायाङ्कनको छनोटमा इलाम

अहिले चलचित्र (फिल्म) बाटै इलाममा पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । चलचित्रको दृश्यबाटै लोभिएर पर्यटकसमेत यस क्षेत्रमा पुग्ने क्रम बढेको छ । 

नयाँ–नयाँ क्षेत्रलाई चलचित्रमा देखाइँदा इलाममा नयाँ पर्यटकीय क्षेत्रको पहिचानसमेत भएको छ । केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ नामक चलचित्र निर्माण भएको थियो ।

प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्र समेटिएको थियो । इलामकै भू–भागमा नयाँ चलचित्र ‘कृष्ण लीला’ छायाङ्कन गरिएको छ ।

कोभिडका कारण पर्यटन सूचना केन्द्र इलाम लक्ष्यविहीन 

हरेक वर्ष पर्यटक यो सङ्ख्यामा भित्र्याउने भन्ने लक्ष्य पर्यटन सूचना केन्द्र जोरकलश इलामले राख्ने गरेको छ । तर यस वर्ष भने केन्द्र लक्ष्यविहीन छ । कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन कहिले खुल्छ भन्ने टुङ्गो नभएकाले केन्द्र यो आर्थिक वर्ष लक्ष्यविहीन भएको हो । 

आर्थिक वर्ष २०७५/०७६ मा इलाममा एक लाख ३४ हजार ७७ जना पर्यटक भित्रिएको तथ्याङ्क छ । यसमा आन्तरिक पर्यटक मात्रै एक लाख ३३ हजार चार सय ९७ जना छन् । बाह्य भने पाँच सय ८० जना रहेको पर्यटन सूचना केन्द्र जोरकलश इलामका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार, आर्थिक वर्ष २०७६/०७७ मा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएका छन् । यसमा आन्तरिक पर्यटक मात्रै एक लाख २८ हजार ६४ जना छन् भने बाह्य पर्यटकको सङ्ख्या नौ सय ५६ जना छन् । यसमा नौ सय ३५ जना भारतीय छन् भने बाँकी २१ जना बेलायत, अमेरिका, अफ्रिका, फ्रान्स, जापानलगायतका छन् ।  

आर्थिक वर्ष २०७६/०७७ मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको केन्द्रले यस वर्ष भने पर्यटक कति भित्र्याउने भन्नेबारे कुनै पनि लक्ष्य निर्धारण नगरेको केन्द्रका सूचना अधिकारी घिमिरेले बताउनुभयो । 

कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले १० महिना पछिबाट मात्रै गणनाको कार्य थाल्यो । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो । तर कोरोनाले यो शृङ्खला टुटाइ दिएको छ । 

चैतको पहिलो हप्ता सुरु भएको लकडाउनले पर्यटक गणना गर्न सकिएन । पुसको सुरुबाट गणना सुरु गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार पुस महिनामा चार हजार सात सय ४० जना आन्तरिक पर्यटक इलाम प्रवेश गरेका छन् । 

सूचना केन्द्रले बस र ट्याक्सीमा सवार पर्यटकको मात्रै सङ्ख्या तथ्याङ्कमा राख्छ । यस कारण पनि सङ्ख्या कम भएको सूचना अधिकारी घिमिरे बताउनुहुन्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसकेकाले पनि पर्यटक नआएको उहाँको बुझाइ छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया