अपराजित एपीएफ लिग च्याम्पियन

 फागुन ७, २०७७ शुक्रबार १७:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ ।

यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको थियो । पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एक/एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।

चौदण्डीगढी लिगमा जितविहीन भयो । उसले पुछारमा रहेर लिग सकाएको छ । उपाधि जितेको एपीएफले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले आठ लाख, तेस्रो भएको पुलिसले पाँच लाख र चौथो बनेको स्याङ्जाको वालिङ नगरपालिकाले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया